७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो सात महिनामा १२ खर्ब ६१ अर्ब १ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको सात महिनाको वित्तीय स्थिति रिपोर्टअनुसार साउनदेखि माघ मसान्तसम्म विप्रेषण आप्रवाह ३९.८ प्रतिशतले वृद्धि भएको हो । गत आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स ७.५ प्रतिशतले मात्र बढेको थियो ।
गत आर्थिक वर्षको माघ महिनामा विप्रेषण आप्रवाह १३७ अर्ब ५० करोड रहेकोमा चालु आवको माघ महिनामा मात्रै १९८ अर्ब ८ करोड पुगेको छ । अमेरिकी डलरमा पनि विप्रेषण आप्रवाह ३३.० प्रतिशतले वृद्धि भई ८ अर्ब ८६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.५ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १३ खर्ब ८४ अर्ब २७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ९८६ अर्ब ३४ करोड रहेको थियो ।
यस्तै, वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या २ लाख ४५ हजार १५३ रहेको छ । पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या भने २ लाख २७ हजार ४२४ पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा नयाँ श्रम स्वीकृति लिने २ लाख ७४ हजार ६२२ र पुनः श्रम स्वीकृति लिने १ लाख ९० हजार ८८६ रहेका थिए ।
