समानुपातिकतर्फको गणना सम्पन्न: सिट बाँडफाँटको तयारी
काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना कार्य पूर्ण रूपमा सम्पन्न भएको छ । निर्वाचन आयोगले ७७ वटै जिल्लाको मतगणना सकिएसँगै अब अन्तिम नतिजा प्रविष्ट गर्ने र सिट सङ्ख्या निर्धारण गर्ने प्रक्रिया सुरु गरेको हो ।
निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार सबै जिल्लाबाट प्राप्त निर्वाचन फारमहरू आयोगको केन्द्रीय प्रणालीमा प्रविष्ट गर्ने काम भइरहेको छ । यो प्रक्रिया सकिएपछि आयोगको वेबसाइटमा अन्तिम मत परिणाम अपडेट गरिनेछ ।
“प्राप्त मतका आधारमा थ्रेसहोल्ड कटाउने र नकटाउने दलहरूको पहिचान गरी सिट बाँडफाँट गरिनेछ,” सहायक प्रवक्ता जिसीले भने, “सम्भव भएसम्म आजै यो प्रक्रिया टुङ्ग्याउने हाम्रो प्रयास छ ।”
आयोगको पछिल्लो तथ्याङ्क अनुसार कुल एक करोड सात लाख ३९ हजार एक सय १५ मत गणना भइसकेको छ । यसपटकको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फ ऐतिहासिक मत प्राप्त गर्दै ५१ लाख ३९ हजार २३५ मतसहित शीर्ष स्थान ओगटेको छ ।
यसैका आधारमा रास्वपाले समानुपातिकतर्फ ५७ सिट पाउने प्रक्षेपण गरिएको छ, जसले गर्दा प्रत्यक्षतर्फको १२५ सिटसहित संसद्मा उसको कुल १८२ सिट पुग्ने देखिएको छ ।
अन्य प्रमुख दलहरूको अवस्था यस्तो छ:
नेपाली कांग्रेस: १७ लाख ४९ हजार ५८३ मत (प्रक्षेपित २० सिट)
नेकपा (एमाले): १४ लाख ४८ हजार ८५४ मत (प्रक्षेपित १६ सिट)
नेपाली कम्युनिस्ट पार्टी: ८ लाख ५ हजार ७५३ मत (प्रक्षेपित ९ सिट)
श्रम संस्कृति पार्टी: ३ लाख ७८ हजार ६४९ मत (प्रक्षेपित ४ सिट)
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा): ३ लाख २९ हजार ४७२ मत (प्रक्षेपित ४ सिट)
राष्ट्रिय दल बन्नका लागि आवश्यक ३ प्रतिशतको ‘थ्रेसहोल्ड’ यी ६ वटा दलले मात्र कटाउने देखिएको छ । सिट सङ्ख्याको अन्तिम टुङ्गो लागेपछि आयोगले सम्बन्धित राजनीतिक दलहरूलाई बन्दसूचीमा रहेका नामहरूमध्येबाट समावेशी सिद्धान्तका आधारमा निर्वाचित हुने सदस्यहरूको नाम पठाउन पत्राचार गर्नेछ ।
