विराटनगरमा मोटरसाइकल दुर्घटना: प्रहरी सईको मृत्यु
सांकेतिक तस्बिर
विराटनगर । विराटनगरमा बुधबार बिहान भएको मोटरसाइकल दुर्घटनामा परेर नेपाल प्रहरीका एक सई (प्रहरी नायव निरीक्षक) को मृत्यु भएको छ। मृत्यु हुनेमा हिरासत व्यवस्थापन शाखा झापा दरबन्दी भई कोशी प्रदेश प्रहरी तालिम केन्द्र रानीमा कार्यरत ४० वर्षीय मीनबहादुर बोहोरा रहेका छन्।
मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी लीलाराज लामिछानेका अनुसार विराटनगर महानगरपालिका–४ राजवंशी चोकमा बिहान ७ः३५ बजेतिर दुर्घटना भएको थियो। राजवंशी चोकबाट नोबेल अस्पतालतर्फ जाँदै गरेको स ७ प ९१५२ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका सई बोहोरालाई तत्काल उपचारका लागि नोबेल शिक्षण अस्पताल लगिएको थियो। उनको उपचारकै क्रममा बिहान ९ बजेतिर मृत्यु भएको हो। शवलाई पोस्टमार्टमका लागि विराटनगरस्थित कोशी अस्पताल लगिएको छ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार उदयपुरको त्रियुगा नगरपालिका–६ का ४१ वर्षीय पेशलकुमार बस्नेत घाइते भएका छन्। उनको अवस्था मध्यम रहेको र नोबेलमै उपचार भइरहेको छ। घाइते बस्नेत मृतक बोहोराको आफन्त हुनसक्ने प्रहरीको अनुमान छ।
मोरङका इन्स्पेक्टर लेखनाथ दाहाल नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ। दुर्घटनाग्रस्त मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ।
