२६ वर्षपछि पूर्वी इलाममा कांग्रेसको पुनरागमन

इलाम। त्रिपक्षीय प्रतिस्पर्धाका कारण रोचक बनेको इलाम-१ मा नेपाली कांग्रेसका निश्कल राई विजयी भएका छन्।

उनले श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बुलाई ९११ मतको अन्तरले पराजित गरेका हुन्। ३५ वर्षीय राईले १४ हजार ५४३ मत प्राप्त गर्दा लिम्बुले १३ हजार ६३२ मत पाए।

यस जितसँगै इलाम-१ मा लामो समयदेखिको कम्युनिस्ट पकड पनि तोडिएको छ। वि.सं. २०५६ मा बेनुपराज प्रसाईले जितेयता यो क्षेत्रमा सधैँ कम्युनिस्ट उम्मेदवार नै हाबी हुँदै आएका थिए।

पूर्वप्रधानमन्त्री झलनाथ खनालले निरन्तर जितेको यस क्षेत्रमा गत निर्वाचनमा एमालेका महेश बस्नेत विजयी भएका थिए। तर, यसपटक एमाले तेस्रो स्थानमा खुम्चिएको छ। एमालेका उम्मेदवार काजीमान कागतेले ११ हजार ९६६ मत प्राप्त गरे।

अन्य उम्मेदवारहरूमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका विमल गदालले ९ हजार १६० मत र मेयर पदबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रिएका नेपाली कम्युनिस्ट पार्टीका रणबहादुर राईले ७ हजार ६६५ मत प्राप्त गरे।

को हुन् निश्कल ?

सूर्योदय नगरपालिका-४ निवासी निश्कल बौद्धिक युवा नेताका रूपमा चिनिन्छन्। स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गरेका उनी शंकरदेव क्याम्पसका पूर्व लेक्चरर समेत हुन्।

नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका राई हाल नेपाली कांग्रेस इलाम क्षेत्र नम्बर १ (ख) का क्षेत्रीय सभापति हुन्। उनले रोजगारी सिर्जना, सिप विकास र उद्यमशीलतालाई आफ्नो मुख्य चुनावी एजेन्डा बनाएका थिए।

देशभर राष्ट्रिय स्वतन्त्र पार्टीको लहर देखिए पनि इलामका दुवै क्षेत्रमा भने पुराना दलका युवा उम्मेदवार निर्वाचित भएका छन्। इलाम-२ बाट नेकपा एमालेका ३६ वर्षीय सुहाङ नेम्वाङ विजयी भइसकेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *