विराटनगर जेसीजको स्थापना दिवसमा स्त्रीरोग विशेषज्ञ डा. सुबेदी सम्मानित

विराटनगर । विराटनगर जेसीजले आफ्नो ५३औँ स्थापना दिवसका अवसरमा ‘नारी सम्मान’ कार्यक्रम आयोजना गरी मनाएको छ। स्थापना दिवसको अवसर पारेर जेसीजले विराटनगरमा लामो समयदेखि स्त्री तथा प्रसूति रोग सम्बन्धी सेवा प्रदान गर्दै आएकी विशेषज्ञ डा. शान्ति सुबेदीलाई सम्मान गरेको हो।

विशेषगरी निःसन्तान दम्पतीहरूको उपचारमा संलग्न रही धेरैको जीवनमा खुसी ल्याउन योगदान पुर्‍याएकाले डा. सुबेदीलाई सम्मान गरिएको संस्थाले जनाएको छ। कार्यक्रमका प्रमुख अतिथि विराटनगर–१० स्थित ब्रह्मकुमारी राजयोग सेवा केन्द्रकी गीता दिदी र विराटनगर जेसीजका अध्यक्ष जेसी कविराज दाहालले पूर्व अध्यक्षहरूको उपस्थितिमा डा. सुबेदीलाई खादा, माला तथा दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरे।

कार्यक्रममा अध्यक्ष दाहाल लगायत उपस्थित पूर्व अध्यक्षहरू तथा अतिथिहरूले संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना मन्तव्य व्यक्त गरे। सो अवसरमा इनरुवा, दुहवी र इटहरी लगायतका शाखाबाट आएका जेसीज अध्यक्षहरू, बोर्ड पदाधिकारीहरू तथा विराटनगर जुनियर जेसीजका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रम संयोजक जेसी आशिका खतिवडाले स्थापना दिवसका अवसरमा यस्तो गरिमामय कार्यक्रम संयोजन गर्न पाएकोमा आभार व्यक्त गरिन्। विराटनगर जेसीज वर्ष २०२६ की जनसम्पर्क अधिकारी जेसी आकृति रानी फुयलका अनुसार स्थापना दिवसको कार्यक्रम सभ्य र भव्य रूपमा सम्पन्न भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *