रास्वपाले पुर्यायो १००
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऐतिहासिक सफलता हासिल गर्ने देखिएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार रास्वपा हालसम्म देशभरका सय निर्वाचन क्षेत्रमा विजयी भएको छ । आज आइतबार बिहान ६ः१५ बजेसम्मको परिणाम अनुसार रास्वपाका उम्मेदवारहरू थप २५ निर्वाचन क्षेत्रमा अगाडि छन् ।
आयोगका अनुसार हालसम्म १२९ निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । जसमा नेपाली कांग्रेसले १४ क्षेत्रमा जित निकालेको छ भने २ स्थानमा अग्रता कायम राखेको छ । नेकपा एमाले ७ स्थानमा विजयी भएको छ र ४ स्थानमा यसको अग्रता देखिएको छ । यस्तै नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट ६ जना उम्मेदवार विजयी भएका छन् भने १ स्थानमा सो पार्टी अगाडि छ ।
अन्य दलतर्फ राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवारले एक–एक स्थानमा जित हासिल गरेका छन् । नयाँ शक्तिका रूपमा देखिएको श्रम संस्कृति पार्टीका तीन जना उम्मेदवारहरू विभिन्न क्षेत्रमा अग्रस्थानमा रहेका छन् । फागुन २१ गते सम्पन्न निर्वाचन अन्तर्गत समानुपातिकतर्फको मतगणना पनि तीव्र गतिमा अघि बढेको छ ।
हालसम्म १९ लाख ४५ हजार १५५ समानुपातिक मत गणना भइसकेको छ । जसमा रास्वपाले १० लाख ४६ हजार मतका साथ आफ्नो वर्चस्व कायम गरेको छ । यस्तै नेपाली कांग्रेसले तीन लाख ४७ हजार, नेकपा एमालेले दुई लाख ७५ हजार र नेपाली कम्युनिस्ट पार्टीले एक लाख २१ हजार मत प्राप्त गरेका छन् । मतगणना कार्य अझै जारी रहेकाले अन्तिम परिणाम आउन केही समय लाग्ने देखिएको छ ।
