आश्रित आँखा र अपेक्षित भरोसा
प्रिय बालेन,
यो चिठ्ठी एउटा व्यक्तिले मात्र लेखेको होइन। यो त त्यो देशको मौन आवाज हो, जहाँ लाखौँ मानिसले वर्षौँदेखि आफ्ना पीडा मनभित्रै दबाएर आशाको एउटा सानो दियो बालेर बसेका छन्।
यो पत्र ती आमाको हो, जसले छोरालाई परदेश पठाउँदा आफ्ना आँसु आँचलभित्र लुकाइन्। यो पत्र ती बुबाको हो, जसले जीवनभर पसिना बगाए तर आफ्ना सन्तानलाई यही माटोमा भविष्य दिन सकेनन्। यो पत्र ती युवाको हो, जो आफ्नो देशलाई माया गर्दागर्दै पनि पेटको बाध्यताले मरुभूमि रोज्न विवश भए।
हामी ती जनता हौँ, जसले पटक–पटक परिवर्तनको सपना देख्यौँ। हामीले आन्दोलन देख्यौँ, चर्का नारा सुन्यौँ, अनि लाठी, गोली र अश्रुग्यासको सामना पनि गर्यौँ। हामीले विश्वास गरेका थियौँ— “अब देश बदलिन्छ।” तर वर्षहरू बिते; नेता फेरिए, पार्टी फेरिए, कुर्सीहरू पनि फेरिए— तर फेरिएन त केवल जनताको जीवन। हाम्रा गाउँका घरहरू रित्तिँदै गए र सपनाहरू विमानस्थलको बाटो हुँदै परदेश उड्न थाले। कसैले खाडी रोजे, कसैले मलेसिया त कसैले युरोप–अमेरिका; तर कसैले पनि रहरले आफ्नो देश छाडेका थिएनन्, हामी केवल बाध्य थियौँ।
प्रिय बालेन,
आज फेरि देश इतिहासको अर्को मोडमा उभिएको छ। मानिसहरूले तिमीलाई केवल एउटा नेताका रूपमा मात्र होइन, एउटा बलियो ‘आशा’ का रूपमा हेर्न थालेका छन्। किनकि तिमी भाषणले होइन, कामले चिनिएका छौ। तर एउटा कुरा सम्झनु— यो देशका जनताले धेरै पटक भरोसा गरेका छन् र धेरै पटक धोका पनि पाएका छन्। त्यसैले अचेल कसैलाई विश्वास गर्न पनि उनीहरूलाई डर लाग्छ।
आज यो देशको बागडोर तिम्रो हातमा पुग्दै गर्दा एउटा कुरा कहिल्यै नबिर्सनु— सिंहदरबारको कुर्सी केवल शक्ति होइन, यो त लाखौँ जनताको साझा भरोसा हो। देशका सडकहरूमा अझै कैयौँ अधुरा सपना छन्। गाउँका आँगनहरूमा अझै पनि वृद्ध आमाबुबा परदेशिएका छोराछोरीको बाटो हेर्दै टोलाइरहेका छन्।
हामीलाई कुनै जादुमयी चमत्कार चाहिएको छैन; हामीलाई केवल तिम्रो इमानदार प्रयास चाहिएको छ। हामीलाई ठूला भाषण होइन, साना तर साँचो कामहरू चाहिएको छ। हामीले तिमीलाई देवता बनाएका छैनौँ, तर हामीले तिमीलाई आफ्नो अन्तिम आशा पक्कै बनाएका छौँ।
त्यो आशा कहिल्यै नतोड्नु।
