जेनजी आन्दोलन छानबिन: प्रतिवेदन तयार, भोलि प्रधानमन्त्रीलाई बुझाइँदै

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएको दमन र त्यसपछिको भौतिक क्षतिको सत्यतथ्य खोज्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले आफ्नो काम पूरा गरेको छ। विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको आयोगले भोलि आइतबार प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ।

सिंहदरबारस्थित आयोगको कार्यालयमा अहिले प्रतिवेदनलाई अन्तिम रूप दिने र भाषा परिमार्जन गर्ने काम भइरहेको छ। आयोगका एक पदाधिकारीका अनुसार प्रतिवेदनमा उल्लेख गरिएका तथ्य र सिफारिसहरूमा कुनै प्राविधिक त्रुटि नहोस् भनेर रुजु गर्ने काम भइरहेको छ। आज बेलुकीसम्म सबै प्रक्रिया पूरा भएमा भोलि नै प्रधानमन्त्रीलाई प्रतिवेदन हस्तान्तरण गरिनेछ।

आयोगले अनुसन्धानका क्रममा प्राप्त गरेका भिडियो फुटेज, बयान र अन्य महत्त्वपूर्ण दस्तावेजहरूलाई पनि शिलबन्दी गरिसकेको छ। पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविज्ञ विश्वेश्वर भण्डारी सदस्य रहेको यस आयोगले ६ महिना लामो सुक्ष्म अध्ययनपछि यो प्रतिवेदन तयार पारेको हो। गत भदौ २३ गतेको आन्दोलनमा भएको बल प्रयोग र त्यसले निम्त्याएको परिस्थितिबारे आयोगको निष्कर्षलाई निकै चासोका साथ हेरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *