रास्वपाको लहर: १७ क्षेत्रमा जितसँगै पुराना दललाई ठूलो धक्का
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहँदा नयाँ शक्ति र पुराना दलहरूबीचको शक्ति सन्तुलनमा ठूलो फेरबदल देखिएको छ। निर्वाचन आयोगका अनुसार हाल देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये अधिकांशमा गणना भइरहेको छ भने २५ क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ।
प्रारम्भिक नतिजा र हालसम्मको विजयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सानदार अग्रता दिलाएको छ। शनिबार बिहानसम्मको तथ्याङ्क अनुसार रास्वपाले १७ वटा निर्वाचन क्षेत्रमा जित हासिल गरिसकेको छ। धनुषा–३ मा मनिष झाले ४३ हजार १४२ मत प्राप्त गरी सानदार जित निकालेका छन् भने कास्की–३ बाट बिना गुरुङ ३७ हजार ७५० मतका साथ निर्वाचित भएकी छिन्। काठमाडौंमा रास्वपाको दबदबा स्पष्ट देखिएको छ, जहाँ क्षेत्र नम्बर १० बाट प्रदीप विष्ट, क्षेत्र नम्बर ५ बाट सस्मित पोखरेल र क्षेत्र नम्बर ६ बाट शिशिर खनाल विजयी भएका छन्।
काठमाडौँका अन्य क्षेत्रमा पनि रास्वपाकै उम्मेदवारहरूको वर्चस्व देखिएको छ। क्षेत्र नम्बर ४ मा पुकार बम र क्षेत्र नम्बर ८ मा विराजभक्त श्रेष्ठ पुनः निर्वाचित भएका छन्। क्षेत्र नम्बर ३ मा कुलमान घिसिङलाई पराजित गर्दै राजुनाथ पाण्डे विजयी भए भने क्षेत्र नम्बर १ बाट रञ्जु दर्शना (नेउपाने) ले बाजी मारिन्। क्षेत्र नम्बर ९ बाट रास्वपाका संस्थापक डोल प्रसाद अर्याल फराकिलो मतान्तरले विजयी भएका छन्।
मोफसलमा पनि रास्वपाले प्रभावशाली उपस्थिति जनाएको छ। मोरङ–४ बाट सन्तोष राजवंशीले कांग्रेसका महामन्त्री गुरुराज घिमिरेलाई २८ हजार १५ मतान्तरले पराजित गरे भने मोरङ–६ मा रुबिना आचार्यले डा. शेखर कोइरालालाई ४२ हजार ६६३ मतान्तरले पछि पार्दै जित निकालिन्। कास्की–२ बाट उत्तमप्रसाद पौडेल, बाँके–१ बाट सुरेशकुमार चौधरी, स्याङ्जा–१ बाट धनञ्जय रेग्मी र रुपन्देही–४ बाट कन्हैया बनियाँ निर्वाचित भएका छन्।
यता नेपाली कांग्रेसले हालसम्म ५ वटा क्षेत्रमा मात्र जित दर्ता गरेको छ। मुस्ताङ–१ बाट योगेश गौचन थकाली लगातार दोस्रो पटक निर्वाचित भएका छन् भने रसुवा–१ बाट मोहन आचार्य, मनाङ–१ बाट टेकबहादुर गुरुङ, दैलेख–१ बाट बासना थापा र तेह्रथुमबाट सन्तोष सुब्बा विजयी भएका छन्।
नेपाली कम्युनिस्ट पार्टीले भने हालसम्म दुई सिटमा जित निकालेको छ। रुकुम पूर्वबाट पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कालिकोटबाट महेन्द्र बहादुर शाही निर्वाचित भएका छन्। नेकपा एमालेले बाँके–२ बाट आफ्नो पहिलो जित खाता खोलेको छ, जहाँ नवप्रवेशी मोहम्मद ईश्तियाक राई विजयी भएका छन्।
