मतगणना परिणामः रास्वपाको पक्षमा प्रारम्भिक लहर
काठमाडौँ। बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक मतपरिणाम आउने क्रम सुरु भएको छ। देशभरका अधिकांश स्थानमा मतपेटिका संकलनमा ढिलाइ भइरहँदा काठमाडौँ र भक्तपुरका केही क्षेत्रमा भने मतगणनाले तीव्रता पाएको निर्वाचन अधिकृतको कार्यालयले बताए।
शुक्रबार बिहान साढे ३ बजेसम्म सार्वजनिक भएको १६ निर्वाचन क्षेत्रको नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वर्चस्व कायम गरेको देखिएको छ।
रास्वपाका उम्मेदवारहरूले १२ स्थानमा सुरुवाती अग्रता लिएका छन्। विशेषगरी काठमाडौँका क्षेत्र नम्बर १, ४, ५, ७, ८ र १० मा रास्वपा निकै अगाडि देखिएको छ।
त्यस्तै बाँके क्षेत्र नम्बर १, कञ्चनपुरका क्षेत्र नम्बर २ र ३ तथा कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा पनि रास्वपाकै उम्मेदवारहरूले अग्रता बनाएका छन्।
यसपटकको निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ३ को प्रतिस्पर्धा रोचक देखिएको छ। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सो क्षेत्रमा सुरुवाती अग्रता लिएको निर्वाचन कार्यालयले बताए। नेकपा एमालेले बाँके–२ र भक्तपुर–२ मा आफ्नो अग्रता जोगाइराखेको छ।
नेपाली कांग्रेस र नेकपाले भने अहिलेसम्म कुनै पनि क्षेत्रमा अग्रता लिन सकेका छैनन्। मतपेटिका संकलन सकिएका अन्य क्षेत्रमा पनि सर्वदलीय बैठकपछि मतगणना सुरु हुने तयारी भइरहेको छ।
