देशभर ६० प्रतिशत मतदान : निर्वाचन आयोग

काठमाडौँ। प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत देशभर उत्साहजनक रूपमा ६० प्रतिशत मतदान भएको छ।

निर्वाचन आयोगले बिहीबार साँझ आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रारम्भिक जानकारी अनुसार ६० प्रतिशत मत खसेको बताएका हुन्।

आयोगका अनुसार केही छिटपुट घटनाबाहेक देशभर मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। “६० प्रतिशत मत खसेको प्रारम्भिक जानकारी आएको छ, मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ,” भण्डारीले पत्रकार सम्मेलनमा भने। बिहानीपख केही सुस्त देखिए पनि मध्यान्हपछि मतदानको दरमा उल्लेख्य वृद्धि भएको आयोगको ठहर छ।

अहिले देशभरका मतदान केन्द्रहरूबाट मतपेटिका सङ्कलन गर्ने कार्य भइरहेको छ। आयोगले सबै क्षेत्रका मतपेटिकाहरू मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुर्‍याएपछि मुचुल्का उठाएर सर्वदलीय सहमतिका आधारमा आजै रातिदेखि मतगणना सुरु गर्ने जनाएको छ।

गत भदौको राजनीतिक घटनाक्रमपछि भएको यस निर्वाचनलाई अन्तर्राष्ट्रिय समुदायले पनि निकै चासोका साथ हेरेको छ। आयोगले मतपेटिका सङ्कलन र सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकतामा राखेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *