कोशीमा २ बजेसम्म ३२ प्रतिशतभन्दा बढी मतदान
विराटनगर। प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत कोशी प्रदेशमा दिउँसो २ बजेसम्ममा ३२.१६ प्रतिशत मतदान भएको छ। निर्वाचन आयोग र सुरक्षा निकायबाट प्राप्त पछिल्लो तथ्याङ्क अनुसार प्रदेशभरका १४ वटै जिल्लामा मतदान प्रक्रिया उत्साहजनक र शान्तिपूर्ण रूपमा अघि बढिरहेको छ।
हालसम्मको विवरण अनुसार सुनसरी जिल्लामा सबैभन्दा बढी ४३.५५ प्रतिशत मत खसेको छ। यस्तै ताप्लेजुङमा ३६.४८, सोलुखुम्बुमा ३५.८१ र तेह्रथुममा ३४.७६ प्रतिशत मतदान भएको छ। पाँचथरमा ३२.९१, मोरङमा ३२.१३ र उदयपुरमा ३२.०१ प्रतिशत मत खसेको तथ्याङ्कले देखाउँछ।
अन्य जिल्लाहरूको अवस्था हेर्दा संखुवासभामा ३०.२८, खोटाङमा ३०.७२, इलाममा २९.२३ र भोजपुरमा २९.१५ प्रतिशत मतदान भएको छ। झापामा २८.५७ प्रतिशत र धनकुटामा २७.६७ प्रतिशत मत खस्दा ओखलढुङ्गामा भने तुलनात्मक रूपमा कम अर्थात् २४.५० प्रतिशत मात्र मतदान भएको छ।
प्रदेशभर हालसम्म ११ लाख ४९ हजार ५ सय ७१ भन्दा बढी मतदाताले आफ्नो मताधिकार प्रयोग गरिसकेका छन्। नेपाल प्रहरीका अनुसार प्रदेशका सबै मतदान केन्द्रहरूमा सुरक्षा व्यवस्था मजबुत रहेको र मतदान कार्य शान्तिपूर्ण रूपमा जारी छ।
दिउँसो २ बजेपछिको समयमा पनि मतदान केन्द्रहरूमा मतदाताको पातलो तर निरन्तर उपस्थिति देखिएको छ। साँझ ५ बजेसम्म मतदानको समय रहेकाले समग्र मतदान प्रतिशत अझै बढ्ने अनुमान गरिएको छ।
