मेरो कर्तव्य पूरा भयो : प्रधानमन्त्री
काठमाडौँ। अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँको धापासीस्थित मतदान केन्द्रमा पुगेर आज बिहानै मतदान गरेकी छन्। मतदानपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले आफ्नो नागरिक कर्तव्य पूरा भएकोमा निकै खुशी लागेको बताएकी छन्।
गत भदौमा भएको ‘जेनजी आन्दोलन’ र त्यसपछिको राजनीतिक अस्थिरतापछि कार्कीलाई भदौ २७ गते अन्तरिम सरकारको नेतृत्व सुम्पिएको थियो। आजको निर्वाचनलाई मुलुकको राजनीतिक स्थिरताका लागि महत्त्वपूर्ण खुड्किलोका रूपमा हेरिएको छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनका लागि देशभर सुरक्षा र व्यवस्थापनका सबै तयारी पूरा भएको बताए। उनले १ करोड ८९ लाख ३ हजार ६८९ मतदातालाई निर्धक्क भएर मतदान गर्न आह्वान गरेका छन्। यसपटक १८ देखि ४० वर्ष उमेर समूहका ५२ प्रतिशत युवा मतदाताले ६ हजार ५४१ उम्मेदवारको राजनीतिक भविष्यको फैसला गर्नेछन्।
प्रतिनिधिसभाका २७५ सिटका लागि प्रत्यक्षतर्फ ३ हजार ४०६ र समानुपातिकतर्फ ३ हजार १३५ उम्मेदवार चुनावी मैदानमा छन्। प्रत्यक्षतर्फ प्रतिस्पर्धा गरिरहेका उम्मेदवारमध्ये ३ हजार १७ पुरुष र ३८८ महिला छन् भने लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायबाट एक जनाको प्रतिनिधित्व छ।
निर्वाचनलाई निष्पक्ष र शान्तिपूर्ण बनाउन देशभर ३ लाख ४१ हजार ११३ सुरक्षाकर्मी परिचालन गरिएको छ। जसमा १ लाख ४९ हजार अस्थायी निर्वाचन प्रहरी समेत रहेका छन्। विगतको तुलनामा यसपटक युवा मतदाताको उत्साहजनक सहभागिताले मतदानको प्रतिशत बढ्ने निर्वाचन आयोगको अपेक्षा छ।
आयोगले दुर्गम क्षेत्रका मतपेटिकाहरू छिटो संकलन गर्न हेलिकप्टरको समेत प्रयोग गर्ने तयारी गरेको छ। मतगणना सुरु भएको २४ घण्टाभित्र प्रत्यक्षतर्फको प्रारम्भिक नतिजा सार्वजनिक गर्ने आयोगको लक्ष्य रहेको बताए।
