झापा-५ : जमिनदेखि आकाशसम्म सेनाको निगरानी

झापा । प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै झापाको निर्वाचन क्षेत्र नम्बर ५ मा सुरक्षा व्यवस्था निकै कडा पारिएको छ। यस क्षेत्रमा उच्च राजनीतिक प्रतिस्पर्धा र सम्भावित जोखिमलाई ध्यानमा राख्दै नेपाली सेनाले विशेष सुरक्षा योजना लागू गरेको हो।

सेनाले दमकलाई मुख्य केन्द्र बनाएर विभिन्न स्थानमा ‘अपरेटिङ बेस’ हरू स्थापना गरेको छ। सुरक्षाका लागि ठूलो सङ्ख्यामा सैनिक टोली परिचालन गरिएको छ। प्रत्येक बेसको नेतृत्व लप्टनले गरेका छन्।

निर्वाचनलाई भयरहित बनाउन सेनाले नियमित पेट्रोलिङ, दिनरात गस्ती र फ्ल्याग मार्च गरिरहेको छ। विशेष सुरक्षाका लागि दमकमा अस्थायी हेलिप्याड निर्माण गरी हेलिकप्टरमार्फत हवाई गस्ती समेत सुरु गरिएको छ।

संवेदनशील मानिएका स्थानहरूको आकाशबाट निगरानी भइरहेको छ भने आकस्मिक अवस्थाका लागि चारवटा ‘बख्तरबन्ध’ गाडीहरू तयारी अवस्थामा राखिएका छन्।

सेनाले निर्वाचनको समयमा आफू तेस्रो सुरक्षा घेरामा रहने र मतदान केन्द्रभित्र प्रवेश नगर्ने स्पष्ट पारेको छ। तर मतपेटिका ढुवानी गर्दा सुरक्षा दिने र मतगणना स्थलमा अन्तिम नतिजा नआएसम्म चौबीसै घण्टा कडा पहरा दिने योजना सेनाको छ। सुरक्षा अधिकारीहरूले निर्वाचन बिथोल्ने कुनै पनि गतिविधि सह्य नहुने बताएका छन्।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, रास्वपाका नेता बालेन साह जस्ता ‘हेभीवेट’ उम्मेदवारहरू चुनावी मैदानमा छन्। कांग्रेसकी मन्धरा चिमरिया र नेकपाका रञ्जित तामाङ लगायत दुई दर्जन उम्मेदवार चुनावी मैदानमा छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *