आज मध्यरातिदेखि मौन अवधि सुरु, प्रचारप्रसार गर्न नपाइने

काठमाडौँ। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आज सोमबार मध्यराति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ। मतदान कार्य सम्पन्न नभएसम्म लागु हुने यो अवधिमा राजनीतिक दल र उम्मेदवारले कुनै पनि प्रकारको प्रचारप्रसार गर्न पाउने छैनन्।

मौन अवधि सुरु हुनुअघि आज दिनभर उम्मेदवारहरु चुनावी सभा र घरदैलोमा व्यस्त देखिएका छन्। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न अन्तर्राष्ट्रिय प्रचलन अनुसार नै यो व्यवस्था गरिएको हो।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार मौन अवधिमा सभा, सम्मेलन, गोष्ठी वा कुनै पनि प्रकारका छलफल गर्न निषेध गरिएको छ। मतदान केन्द्रको ३ सय मिटर वरपर राखिएका प्रचार सामग्रीहरु पनि हटाउनुपर्ने कानुनी प्रावधान रहेको छ।

यस अवधिमा सामाजिक सञ्जाल, अनलाइन वा छापा माध्यमबाट कसैको पक्ष वा विपक्षमा मत माग्न, सन्देश पठाउन वा प्रचार सामग्री सेयर गर्न पाइने छैन। उम्मेदवार र राजनीतिक दलका भ्रातृ सङ्गठनहरुलाई समेत आचारसंहिता पूर्ण रुपमा पालना गर्न आयोगले निर्देशन दिएको छ।

मौन अवधिको उल्लंघन गर्नेलाई निर्वाचन कानुन अनुसार कारबाही हुने आयोगले चेतावनी दिएको छ। मतदातालाई कुनै पनि प्रभावमा नपारी स्वतन्त्र रुपले विवेक प्रयोग गर्ने वातावरण मिलाउन यो समय महत्वपूर्ण मानिन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *