जब आकाशबाट सूर्य हराउँछ: सूर्य ग्रहणबारे ५ अनौठा कथा
प्राचीन कालमा जब अचानक दिउँसै अँध्यारो हुन्थ्यो, मानिसहरू अचम्ममा मात्र पर्दैनथे, उनीहरू भयभित पनि हुन्थे। विज्ञानले सूर्य र चन्द्रमाको लुकामारीलाई ‘ग्रहण’ भनेर प्रमाणित गर्नुअघि संसारका विभिन्न सभ्यताले यसलाई दैवी शक्ति वा दानवीय आक्रमणको रूपमा व्याख्या गरेका थिए। ‘इअन-काइक डट एआई’ ले उल्लेख गरे अनुसार संसारका विभिन्न कुनामा प्रचलित सूर्य ग्रहणसँग जोडिएका ५ रोचक र विस्तृत कथाहरू :
चीन: आकासे ड्रागनको भोज
प्राचीन चिनियाँहरू सूर्य ग्रहणलाई ब्रह्माण्डकै ठूलो संकट मान्थे। उनीहरूको विश्वास थियो कि एउटा विशाल ‘आकासे ड्रागन’ ले सूर्यलाई खान खोजिरहेको छ। जब ग्रहण लाग्थ्यो, गाउँलेहरू एकजुट भएर ठुलो आवाजमा ड्रम बजाउने, भाँडाकुँडा ठटाउने र तोप पड्काउने गर्थे। उनीहरूलाई लाग्थ्यो कि यसो गर्दा त्यो ड्रागन डराएर भाग्नेछ र सूर्यलाई ओकल्नेछ। रोचक कुरा के छ भने, चिनियाँ भाषामा ग्रहण बुझाउने शब्द ‘शि’ को अर्थ नै ‘खानु’ भन्ने हुन्छ।
भारत: राहुको बदला र अमरत्वको कथा
हिन्दु पौराणिक कथामा ग्रहणको सम्बन्ध अमृत र धोकासँग जोडिएको छ। राहु नामक राक्षसले देवताको भेषमा अमृत पिएपछि सूर्य र चन्द्रमाले उसको पोल खोलिदिएका थिए। भगवान विष्णुले सुदर्शन चक्रले उसको टाउको काटिदिए पनि अमृतको प्रभावले ऊ जीवितै रह्यो। त्यही समयदेखि राहुले सूर्य र चन्द्रमालाई आफ्नो शत्रु मान्छ। उसले समय–समयमा उनीहरूलाई लखेट्दै निल्ने गर्छ। तर राहुको शरीर नभएकाले निलिएको सूर्य उसको घाँटीबाट पुनः बाहिर निस्कन्छ र ग्रहण समाप्त हुन्छ।
स्क्यान्डिनेभिया: भोका ब्वाँसाहरूको दौड
भाइकिङ सभ्यतामा सूर्य र चन्द्रमालाई आकाशमा दुई हिंस्रक ब्वाँसाहरू- ‘स्कोल’ र ‘हाटी’ ले लखेटिरहेका हुन्छन् भन्ने विश्वास गरिन्थ्यो। जब ती ब्वाँसोले सूर्यलाई भेट्टाउँछन्, तब ग्रहण लाग्छ। उनीहरूका अनुसार यो केवल एउटा घटना मात्र नभएर संसार अन्त्य हुने संकेत (राग्नारोक) पनि थियो। यो मिथकले आकाशलाई एउटा निरन्तर युद्ध भइरहने मैदानको रूपमा चित्रण गर्दछ।
इन्का सभ्यता: घाइते र रिसाएका सूर्य
दक्षिण अमेरिकाको इन्का समुदायमा सूर्यलाई मुख्य देवता (इन्टी) को रूपमा पूजा गरिन्थ्यो। सूर्य ग्रहण लाग्दा उनीहरू सूर्य देवता निकै रिसाएको वा घाइते भएको महसुस गर्थे। यस्तो समयमा पुजारीहरूले विशेष बलि चढाउने र अनुष्ठान गर्ने गर्थे ताकि सूर्य देवताले उनीहरूलाई सधैँका लागि छोडेर नजाऊन्। यो उनीहरूका लागि आत्मालाई शुद्ध पार्ने र देवतासँग माफी माग्ने समय थियो।
उत्तर अमेरिका: सूर्य र चन्द्रमाको मिलन
सबै कथा डरलाग्दा मात्र छैनन्। केही नेटिभ अमेरिकी जनजातिहरू जस्तै ‘ओजिब्वे’ हरूमा भने ग्रहणलाई प्रेम र मिलनको रूपमा हेरिन्थ्यो। उनीहरूको मान्यता अनुसार सूर्य र चन्द्रमा प्रेमी-प्रेमिका हुन्। ग्रहण लाग्नु भनेको उनीहरूले एक-अर्कालाई भेट्ने दुर्लभ अवसर हो। मानिसहरूले उनीहरूको प्रेममा बाधा नपुगोस् भनेर शान्त रहने वा भजन गाउने गर्थे।
यी पौराणिक कथाहरूले के देखाउँछन् भने मानिसले विज्ञान नहुँदा पनि आफ्नो कल्पना शक्तिले ब्रह्माण्डका रहस्यहरू बुझ्ने प्रयास गरेको थियो। आज हामी यसलाई खगोलीय घटना मान्छौँ, तर यी कथाहरूले आज पनि हाम्रो संस्कृति र इतिहासलाई जीवन्त राखेका छन्।
