काठमाडौँ-कतार उडान स्थगित
फाइल तस्बिर
काठमाडौँ । मध्यपूर्वमा बढ्दै गएको युद्धको तनावका कारण कतारको दोहास्थित अन्तर्राष्ट्रिय विमानस्थल तत्कालका लागि बन्द गरिएको छ।
कतार सरकारको यो निर्णयसँगै नेपालबाट कतारका लागि हुने सबै हवाई उडानहरू रोकिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार दोहा विमानस्थल बन्द भएपछि काठमाडौँबाट त्यसतर्फ उड्ने तयारीमा रहेका र कतारबाट नेपाल आउने उडानहरू स्वतः प्रभावित भएका छन्।
आजका लागि तय गरिएका सबै उडानहरू हाललाई स्थगित गरिएको उनले जानकारी दिए।
सूचना अधिकारी भुलले संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत लगायतका अन्य खाडी मुलुकहरूको उडान अवस्थाबारे अहिलेसम्म कुनै आधिकारिक जानकारी नआएको बताए।
“त्यहाँको विमानस्थल बन्द भएपछि हाम्रो तर्फबाट हुने उडानहरू पनि रोक्नुपर्ने अवस्था आयो। हामी अन्य देशहरूको अवस्थाबारे पनि निरन्तर खबर पर्खिरहेका छौँ,” उनले भने।
इरानले खाडी क्षेत्रका अमेरिकी सैन्य आधारहरूलाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेपछि सुरक्षाको कारण देखाउँदै कतारले आफ्नो हवाई क्षेत्र र विमानस्थल बन्द गर्ने निर्णय लिएको बुझिएको छ।
यसले गर्दा वैदेशिक रोजगारीका लागि कतार जाने तयारीमा रहेका र त्यहाँबाट घर फर्कन लागेका सयौँ नेपाली यात्रुहरू मर्कामा परेका छन्।
