भ्रष्टाचार छानबिनको सुरुवात आफ्नै नेताबाट : गगन
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी निर्वाचनपछि कांग्रेसको सरकार बनेमा भ्रष्टाचार छानबिनको सुरुवात आफ्नै पार्टीका शीर्ष नेताहरूबाट गर्ने घोषणा गरेका छन्।
शुक्रबार पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै थापाले निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्री भइसकेका आफ्नै समेत सम्पत्ति छानबिन गर्ने प्रतिबद्धता जनाएका हुन्।
सभापति थापाले मुलुकले भ्रष्टाचारबाट मुक्ति चाहेको उल्लेख गर्दै कांग्रेस नेतृत्वको सरकारले गठन गर्ने शक्तिशाली आयोगले २०४६ सालपछिका सबै उच्चपदस्थहरूको फाइल खोल्ने बताए।
‘त्यो आयोगले शेरबहादुर देउवा र गगन थापाको सम्पत्तिबाट छानबिन सुरु गर्छ,’ उनले भने, ‘गल्ती गरेको पाइए आफ्नै बा (बुबा) लाई पनि छोडिँदैन, हरेक काण्डको सूक्ष्म अनुसन्धान गरिन्छ र भविष्यमा भ्रष्टाचार हुनै नसक्ने संयन्त्र बनाइन्छ।’
भ्रष्टाचार नियन्त्रणसँगै थापाले आगामी ५ वर्षभित्र शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र उद्योगको क्षेत्रमा क्रान्तिकारी रूपान्तरण ल्याउने आश्वासन समेत दिए।
उनले कुनै उग्रता वा बल प्रयोग गरेर नभई विधि र कानुनको शासनभित्र रहेर मुलुकको विकास सम्भव रहेको जिकिर गरे। कांग्रेसले यस पटक स्पष्ट संकल्पका साथ जनतामाझ आएको भन्दै उनले विधिको शासन स्थापना गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताए।
