चुनावको अन्तिम तयारी : गाउँ-गाउँ पुगे निर्वाचन सामग्री
काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मतपत्र, मतपेटिका र आवश्यक निर्वाचन सामग्रीहरू सबै जिल्लामा पुगिसकेको जानकारी दिए।
आयोगका अनुसार अहिले ७५३ स्थानीय तहका ६ हजार ७४३ वडामा स्वयंसेवकहरू परिचालन गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको छ।
मतदान केन्द्रमा खटिने कर्मचारी र सुरक्षाकर्मीहरू सम्बन्धित कार्यक्षेत्रतर्फ प्रस्थान गर्न थालिसकेका छन्। मतदानका लागि विद्यालय, स्वास्थ्य संस्था र वडा कार्यालयका भौतिक संरचनाहरू उपयोग गर्न सरकार र स्थानीय तहलाई अनुरोध गरिसकिएको आयोगले बताएको छ।
यसैबीच, निर्वाचन आचारसंहिता उल्लंघन गर्ने उम्मेदवारहरूमाथि आयोगले कडा कारबाही सुरु गरेको छ। आचारसंहिता विपरीत कार्य गरेको भन्दै जाजरकोट क्षेत्र नम्बर १ का उम्मेदवार शक्ति बहादुर बस्नेतलाई २५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय भएको छ।
त्यस्तै, रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार डा. कमल भुसाल (निकोलस भुसाल) र श्रम संस्कृति पार्टीलाई पनि जनही २५ हजार रुपैयाँ जरिवाना गरिएको छ।
आयोगमा हालसम्म २५४ वटा आचारसंहिता उल्लंघनका उजुरी परेका छन्, जसमध्ये ८८ वटामा स्पष्टीकरण सोधिएको छ। स्पष्टीकरण सोधिएकामध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा ४० वटा रहेका छन्।
आयोगले निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन अनुगमन समिति र सुरक्षा निकायहरूलाई सक्रिय बनाएको बताएको छ।
