फागुन २१ गते साँझदेखि नै मतगणना सुरु हुने
काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने मतदानको नतिजा छिटोभन्दा छिटो सार्वजनिक गर्न विशेष रणनीति तयार पारेको छ।
मतदाताको प्रतीक्षाको समय घटाउने उद्देश्यले आयोगले मतदान सम्पन्न भएकै दिन साँझदेखि मतगणना सुरु गर्ने योजना बनाएको हो।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले विगतका अनुभवबाट पाठ सिक्दै यस पटक मतपेटिका संकलनमा लाग्ने समयलाई उल्लेख्य रूपमा घटाइने जानकारी दिए।
उनले मतदान सकिएलगत्तै गणना कार्य अघि बढाउन आयोगले तिव्र तयारी गरिरहेको बताए। मतदाताहरूमा नतिजाप्रति रहने व्यग्रतालाई सम्बोधन गर्न यो ‘गुड इन्टेन्सन’ राखिएको उनको भनाइ छ।
यस कार्यलाई सफल बनाउन राजनीतिक दलहरूसँगको समन्वयमा मतदान हुनुअघि नै गणना स्थल र आवश्यक व्यवस्थापन मिलाइने आयोगले जनाएको छ।
स्थानीयस्तरमा आइपर्न सक्ने प्राविधिक कठिनाइहरूलाई मध्यनजर गर्दै आयोगले अधिकतम क्षमतामा काम गर्ने लक्ष्य लिएको छ। धेरैजसो निर्वाचन क्षेत्रमा जिल्ला सुरक्षा समितिसँगको समन्वयमा मतगणना स्थलहरू समेत तोकिसकिएको प्रवक्ता भट्टराईले बताए।
