अझै निष्पक्ष निर्वाचनको वातावरण बनेको छैन : ओली

दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अझै पनि निष्पक्ष निर्वाचनको वातावरण बनाउन नसकेको आरोप लगाएका छन्। शुक्रबार झापाको दमकमा अनेरास्ववियुले आयोजना गरेको ‘बासँग विद्यार्थी’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

देशमा आइपरेको सङ्कटबाट मुक्ति दिलाउन एमाले चुनावमा होमिएको बताउँदै उनले सार्वभौम संसद्को जबरजस्ती विघटनपछि मुलुक सङ्कटतर्फ धकेलिएको उल्लेख गरे।

एमाले कहिल्यै पनि चुनावबाट नभाग्ने स्पष्ट पार्दै अध्यक्ष ओलीले आगामी निर्वाचनबाट एमाले नै पहिलो शक्ति बन्ने र देशका सम्पूर्ण समस्याको समाधान निकाल्ने दाबी गरे।

उनले निर्वाचनमा हुने कुनै पनि प्रकारका धाँधली एमालेलाई स्वीकार्य नहुने चेतावनी दिए। सरकार निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउन गम्भीर नदेखिएको उनको भनाइ छ।

युवाहरूलाई विभिन्न माध्यमबाट फैलाइने भ्रममा नपर्न आग्रह गर्दै उनले त्यस्ता भ्रमहरूलाई चिर्ने काममा लाग्न निर्देशन दिए।

कार्यक्रममा विद्यार्थीहरूले राखेका जिज्ञासाको सम्बोधन गर्दै ओलीले कुनै पनि पार्टीको भूमिका उसको सिद्धान्त र एजेन्डाले निर्धारण गर्ने बताए। उनले एमालेका कार्यक्रम र सिद्धान्तहरूलाई जनताको घरदैलोसम्म पुर्‍याउन विद्यार्थीहरूलाई सुझाव दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *