यसपालिको निर्वाचन ‘जीवन-मरण’ को लडाइँ : प्रचण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई सामान्य रूपमा नलिन आग्रह गरेका छन् ।

शुक्रबार काठमाडौँमा आयोजित नुवाकोट र काठमाडौँका पार्टी नेता-कार्यकर्ताहरूको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस निर्वाचनलाई जीवन-मरणको सङ्ग्रामको रूपमा परिभाषित गरे ।

प्रचण्डले यो निर्वाचन विशिष्ट प्रकृतिको भएको चर्चा गर्दै यसको विशेष चरित्र रहेको बताए । उनले भदौ २३ गतेको ‘जेनजी’ आन्दोलनमा तत्कालीन सरकारले गरेको दमन र त्यसपछि उत्पन्न परिस्थितिको उपजका रूपमा यो निर्वाचन हुन लागेको उल्लेख गरे ।

भदौ २४ गतेको विध्वंशमा देशी-विदेशी प्रतिक्रियावादीको चलखेल देखिएको भन्दै उनले यो निर्वाचन दुईवटा अतिवाद विरुद्धको लडाइँ भएको टिप्पणी गरे ।

उनका अनुसार यो निर्वाचनमा एकातिर युवामाथि दमन गर्ने अहंकारी र दम्भी प्रवृत्ति छ भने अर्कोतिर विध्वंश मच्चाउने प्रतिक्रियावादी शक्तिहरू छन् ।

यी दुवै प्रवृत्तिविरुद्ध नेपाली कम्युनिस्ट पार्टी दृढताका साथ उभिएको दाबी गर्दै प्रचण्डले तीनवटा प्रवृत्ति बीच जनमत संग्रहको रूपमा यो निर्वाचन हुन लागेको बताए । उनले यो निर्वाचन राष्ट्र, लोकतन्त्र र लामो सङ्घर्षबाट प्राप्त अधिकारको रक्षाका लागि निर्णायक हुने स्पष्ट पारे ।

राष्ट्रको स्वाधीनता र एकता जोगाउनकै लागि नेपाली कम्युनिस्ट पार्टी निर्माण गरिएको भन्दै उनले निर्वाचनमा आफ्नो पार्टी मात्र एकताबद्ध रहेको र जनस्तरमा पार्टीको पक्षमा ठुलो उभार देखिएको दाबी गरे । उनले सबै नेता तथा कार्यकर्तालाई उच्च मनोबलका साथ चुनावी मैदानमा होमिन निर्देशन समेत दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *