मौन अवधिअघि ‘बालेन-रवि’ टी-सर्ट जफत गर्दै प्रहरी
विराटनगर। होली पर्वको पूर्वसन्ध्यामा बजारमा बिक्रीका लागि राखिएका राजनीतिक सन्देश र नेताहरूको तस्बिर अंकित टी-सर्ट तथा भेष्ट प्रहरीले मोरङ र झापाबाट ठूलो परिमाणमा जफत गरेको छ।
निर्वाचन नजिकिँदै मौन अवधि सुरु हुन लागेकाले यस्ता सामग्री आचारसंहिताविपरीत प्रचार बन्न सक्ने भन्दै नियन्त्रणमा लिइएको हो।
कोशी प्रदेश प्रहरीका अनुसार रवि लामिछाने र बालेन शाहको नाम तथा तस्बिर छापिएका सामग्री बजारमा खुलेआम बिक्रीका लागि राखिएका थिए।
झापाको बिर्तामोड, मेचीनगर, दमक र बुद्धशान्तिबाट २ सय ६२ थान टी-सर्ट जफत गरिएको छ भने मोरङको विराटनगरबाट मात्रै १ हजार ५ सय थान भेष्ट तथा टी-सर्ट बरामद गरिएको प्रहरीले जनाएको छ। दुवै जिल्लाबाट हालसम्म कुल १ हजार ७ सय ६२ थान सामग्री नियन्त्रणमा लिइएको छ।
होलीकै दिनदेखि मौन अवधि सुरु हुने र त्यसक्रममा कुनै पनि प्रकारको प्रचार सामग्री उत्पादन, प्रदर्शन वा बिक्री गर्न नपाइने कानुनी व्यवस्था रहेको प्रहरीले स्मरण गराएको छ। यस्ता सामग्रीले मतदातामा प्रभाव पार्न सक्ने जोखिम देखिएकाले पूर्वसावधानीस्वरूप कारबाही गरिएको जनाइएको छ।
प्रहरीले बरामद सामग्रीबारे अनुसन्धान अघि बढाएको बताउँदै बजार अनुगमनलाई थप कडा बनाइने चेतावनी दिएको छ। साथै, व्यापारी तथा सरोकारवालालाई निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरिएको छ।
