निर्वाचनका लागि ३ लाख ४१ हजार सुरक्षाकर्मी परिचालन

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै देशभर ३ लाखभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन सुरक्षा तथा जोखिम व्यवस्थापन समितिको निर्णयअनुसार म्यादी प्रहरीसहित कुल ३ लाख ४१ हजार १११ जना सुरक्षाकर्मी खटाइएको हो।

सुरक्षा योजनाअनुसार नेपाली सेनाबाट ७९ हजार ७२७, सशस्त्र प्रहरी बलबाट ३४ हजार ५७६ र नेपाल प्रहरीबाट ७५ हजार ७९७ जना जनशक्ति परिचालन गरिएको छ। त्यसैगरी राष्ट्रिय अनुसन्धान विभागबाट १ हजार ९२१ र म्यादी प्रहरीका रूपमा १ लाख ४९ हजार ९० जनालाई निर्वाचन सुरक्षाको जिम्मेवारी दिइएको छ।

निर्वाचन सुरक्षा तथा जोखिम व्यवस्थापन समितिका संयोजक एवं निर्वाचन आयुक्त सगुन शमशेर जबराले हालसम्म मुलुकको शान्ति सुरक्षाको अवस्था सामान्य रहेको र शंका गर्नुपर्ने कुनै परिस्थिति नरहेको बताए।

आयुक्त जबराले आयोगले नियमित रूपमा सुरक्षा निकायका प्रमुखहरूसँग समन्वय गरिरहेको र हालसम्म कुनै गम्भीर सुरक्षा चुनौतीको रिपोर्ट प्राप्त नभएको जानकारी दिए। निर्वाचनको उचित वातावरण निर्माण गर्न र नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन यसपटक विगतको तुलनामा केही अगाडि नै सेना परिचालन गर्ने निर्णय लिइएको उनले स्पष्ट पारे।

विगतका निर्वाचनमा सेनालाई तेस्रो घेरामा मात्र सीमित राख्दा सुरक्षा व्यवस्था प्रभावकारी नभएको भन्ने राजनीतिक दलहरूको सुझावलाई मनन गर्दै यसपटक आवश्यकताअनुसार पहिलो घेरामा समेत बस्न सक्ने गरी सुरक्षा ‘मोडालिटी’ तय गरिएको छ।

प्रतिनिधिसभा निर्वाचन यही फागुन २१ गते हुँदैछ। निर्वाचन सुरक्षा समितिको पहिलो बैठकले नै सेना परिचालनका लागि सरकारलाई सिफारिस गर्ने निर्णय गरेको थियो, जसलाई कार्यान्वयन गर्दै अहिले सुरक्षा निकायहरू देशभर तैनाथ भएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *