दाइ तपाईं अझै बाँचिरहनुभएको छ
आदरणीय दाइ,
सात वर्ष बितेछन् –
तर समयले तपाईंलाई टाढा लगेजस्तो कहिल्यै लागेन।
हरेक वर्ष तपाईंको स्मृति
फरक–फरक आकृतिमा आउँछ
कहिले आँसु बनेर,
कहिले गर्व बनेर,
कहिले साहस बनेर।
हिजो,
दाइ तपाईं हुनुहुन्थ्यो भने
समयमा पनि एउटा भरोसाको न्यानोपन हुन्थ्यो।
तपाईंको त्यो बत्तिस दन्ते मुस्कान
मानौँ थाकेको मनका लागि औषधि थियो,
जसले निराशालाई पनि लाज मान्न बाध्य पार्थ्यो।
आज,
सात वर्ष समयले पार गरिसक्यो,
जीवनका सङ्घर्षसँग जुध्दै
हजुरका भाइका कपालका रौं झर्दै फुल्दै गए,
उमेरले धेरै कुरा बदलिदियो।
तर एउटा कुरा आज पनि उस्तै छ
आँखा बन्द गर्दा देखिने
तपाईंको हँसिलो, उज्यालो अनुहार।
लाग्छ दाइ,
समयले दूरी बढायो,
तर सम्झनाले दूरी मान्दै मानेन।
भोलि,
जीवन अझै अघि बढिरहनेछ,
उमेर अझै थाक्दै जानेछ,
तर तपाईंको मुस्कान
हाम्रो साहस बनेर सधैँ साथ रहनेछ।
हामी लड्खडाउँदा पनि
त्यही हाँसो सम्झेर उठ्नेछौँ
किनकि तपाईं हराउनुभएको होइन,
हाम्रो भोलिको हिम्मत बनेर
अझै बाँचिरहनुभएको छ।
सधैँ सम्झनामा, मेरा प्रिय दाइ।
| सातौँ स्मृति दिवसको सम्झनामा |

(नेकपा (एमाले) का प्रखर नेता एवं तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी रविन्द्र अधिकारीको २०७५ फागुन १५ गते ताप्लेजुङको पाथीभरा क्षेत्रमा भएको हेलिकप्टर दुर्घटनामा निधन भएको थियो। दुर्घटनामा अधिकारीसहित नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रबहादुर श्रेष्ठ, निर्देशक ध्रुवदास भोछिभया, यती एअरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, मन्त्री अधिकारीका अंगरक्षक अर्जुन घिमिरे र पाइलट क्याप्टेन प्रभाकर केसीको पनि निधृन भएको थियो।)

* * *
