मोरङ-३ : चर्चित क्षेत्रमा मतदातामाझ पुग्दै राई
विराटनगर । आसन्न प्रतिनिधिसभा निर्वाचनको सरगर्मी बढ्दै जाँदा मोरङ क्षेत्र नम्बर ३ मा सुकुम्बासी समस्या र जग्गाको दोहोरो स्वामित्व विवाद मुख्य चुनावी एजेन्डा बनेको छ। नेकपा (एमाले) बाट उम्मेदवार बनेका इरान राईले घरदैलो अभियानका क्रममा मतदाताको प्रश्न झेल्नु परिरहेको छ।
यसअघि २०७४ को निर्वाचनमा एमालेका तत्कालीन उम्मेदवार भानुभक्त ढकालले सुकुम्बासी समस्या सधैँका लागि समाधान गर्ने बाचा गरेका थिए। तर, ढकाल मन्त्रीसमेत बने पनि समस्या समाधान नहुँदा २०७९ को निर्वाचनमा उनले पराजय भोग्नुपर्यो। अहिले ढकाल तेह्रथुम पुगेपछि सोही क्षेत्रमा एमालेको विरासत जोगाउने चुनौती राईको काँधमा आएको छ।

उम्मेदवार राईले २०५१ सालमा मनमोहन अधिकारीको पालामा बनेको सुकुम्बासी आयोगले नापीको काम अघि बढाएको स्मरण गराउँदै सरकारको अस्थिरताका कारण समस्या ज्यूँका त्यूँ रहेको तर्क गरेका छन्। उनले अहिलेको ऐन कानुनले मात्र यो जटिलता नफुक्ने भन्दै संसद्मा पुगेर विशेष कानुन निर्माण गरी सुकुम्बासीले पाएका ‘निस्सा’ लाई लालपुर्जामा बदल्ने प्रतिबद्धता जनाएका छन्।
सुकुम्बासी समस्याबाहेक राईले पूर्व–पश्चिम लोकमार्गको सौन्दर्यीकरण र भौतिक पूर्वाधार निर्माणलाई पनि प्राथमिकतामा राखेका छन्। यस क्षेत्रमा राईसँगै नेपाली कांग्रेसका सुनील शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गणेश कार्की चुनावी मैदानमा छन्।
प्रतिस्पर्धी उम्मेदवार शर्मासँगको भेटको तस्बिरलाई लिएर उठेका प्रश्नहरूको खण्डन गर्दै उनले यसलाई राजनीतिक संस्कारका रूपमा अथ्र्याएका छन्।
