जेनजी आन्दोलन: एमालेको दाबी र बालेनको मौनतामाथि गगनको प्रहार

सुर्खेत। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका विषयमा नेकपा एमालेले दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन्।

कर्णाली प्रदेशको सुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै थापाले एमालेको दाबी र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको मौनतालाई लिएर कटाक्ष गरे।

सभापति थापाले पहिले संसद् भवन जलेको र त्यसपछि मात्रै गोली चलेको भन्ने एमालेको भनाइको खण्डन गरे। उनले देशमा दुई खालका प्रवृत्ति देखिएको उल्लेख गर्दै भने, “एउटा प्रवृत्तिले घटनालाई इन्कार गर्छ र भदौ २३ अघि सबै ठिकठाक थियो भन्छ, अर्को प्रवृत्ति चाहिँ बोल्दै बोल्दैन तर त्यही आगोमा आफ्नो राजनीतिको रोटी सेक्न खोज्छ।” थापाले एमालेलाई ‘इन्कार गर्ने’ र बालेन्द्र शाहलाई ‘मौन बसेर फाइदा उठाउने’ प्रवृत्तिका रूपमा चित्रण गरे।

फागुन २१ को निर्वाचन नजिकिँदै गर्दा थापाले नेपाली कांग्रेस यी दुवै सोचभन्दा भिन्न रहेको दाबी गरे। निर्वाचन परिणामको चिन्ता नगरी कांग्रेसले काम गरिरहेको बताउँदै उनले वर्तमान सरकारलाई ट्रयाकमा ल्याउन आफूहरू लागिपरेको उल्लेख गरे। भदौको घटनालाई हेर्ने दृष्टिकोणकै कारण देशमा असहज अवस्था सिर्जना भएको उनको तर्क थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *