१ करोड ७९ लाख मतदाता सहभागी हुँदै

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगले सम्पूर्ण व्यवस्थापकीय तयारी अन्तिम चरणमा पुर्‍याएको छ ।

कूटनीतिक समुदायका लागि आयोजित विशेष ब्रिफिङ कार्यक्रममा आयोगका सचिव कृष्णबहादुर राउतले यसपटकको निर्वाचनमा कुल १ करोड ७९ लाख मतदाता सहभागी हुने जानकारी दिए ।

सचिव राउतका अनुसार कुल मतदातामध्ये ५१ प्रतिशत पुरुष र ४९ प्रतिशत महिला रहेका छन् । मतदानका लागि देशभर १० हजार ९ सय ६७ मतदान स्थल र २३ हजार १ सय १२ मतदान केन्द्रहरू तोकिएका छन् ।

साथै, अस्थायी मतदाताहरूका लागि समानुपातिकतर्फ मतदान गर्न १ सय ४३ वटा अस्थायी मतदान केन्द्रको व्यवस्था गरिएको छ । निर्वाचनलाई सुरक्षित र व्यवस्थित बनाउन २ लाख १५ हजार कर्मचारी परिचालन गरिएको उनले बताए ।

मतदाता शिक्षालाई प्रभावकारी बनाउन र बदर मत घटाउन ६ हजार ७ सय ४३ वडास्तरीय स्वयंसेवक १५ दिनका लागि खटाइएका छन् ।

निर्वाचन खर्चमा पारदर्शिता ल्याउन उम्मेदवारहरूले छुट्टै निर्वाचन प्रचार खाता खोल्नुपर्ने अनिवार्य नियम बनाइएको छ । मतदान सकिएलगत्तै गणना सुरु गरिने र दुर्गम क्षेत्रबाहेक अन्य स्थानको नतिजा १ देखि ३ दिनभित्र सार्वजनिक गरिने आयोगको लक्ष्य छ ।

विदेशी पत्रकार र पर्यवेक्षकहरूका लागि विशेष सुरक्षा र समन्वयको व्यवस्था मिलाइएको स्पष्ट पार्दै सचिव राउतले छिमेकी तथा मित्र राष्ट्रहरूबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गरे ।

निर्वाचन आचारसंहिता पालना गराउन जिल्ला स्तरमा अनुगमन समितिहरू सक्रिय रहेको उनले उल्लेख गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *