मतदानको दिन सवारी सञ्चालनमा रोक

काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन अत्यावश्यक र पास प्राप्त सवारीसाधन बाहेक अन्य सबै प्रकारका सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लाग्ने भएको छ। फागुन २० गते राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्म यो प्रतिबन्ध लागू हुने निर्वाचन आयोगले जनाएको छ।

उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले गरेको निर्णय अनुसार एम्बुलेन्स, दमकल, शवबाहन, सुरक्षा निकायका साधन, विद्युत्, खानेपानी र दूरसञ्चार मर्मतमा प्रयोग हुने गाडी जस्ता अत्यावश्यक सेवाका सवारीसाधन भने निर्वाध चल्न पाउनेछन्।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार मतदानको दिन आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान भने यथावत् रहनेछन्। हवाई यात्रुहरूका लागि विमानस्थल र घर वा होटलसम्म आउन–जान सम्बन्धित एयरलाइन्सका साधन वा निजी सवारी प्रयोग गर्न दिने व्यवस्था मिलाइएको छ।

निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै मतदानको ७२ घण्टा अगाडिदेखि अन्तर्राष्ट्रिय सीमानाकाहरू बन्द गरिनेछ। यस्तै, फागुन १८ गते राति १२ बजेदेखि निर्वाचन प्रचारप्रसार निषेध गरिने र सोही समयदेखि निर्वाचनको अन्तिम परिणाम नआउँदासम्म देशभर मादक पदार्थ बिक्री–वितरण र सेवनमा प्रतिबन्ध लगाउन गृह मन्त्रालयलाई पत्राचार गरिएको छ।

मतदान गर्न जाँदा मतदाताले मतदाता परिचयपत्र, नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपूर्जा वा सवारीचालक अनुमति पत्रमध्ये कुनै एउटा सक्कल कागजात साथमा लैजानुपर्नेछ।

मतदानको दिन सवारी पास आवश्यक पर्नेहरूका लागि आयोगको सचिवालय र जिल्ला प्रशासन कार्यालय काठमाडौँले पास वितरण इकाईमार्फत सहजीकरण गर्ने प्रवक्ता भट्टराईले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *