निर्वाचन अवधिभर मादक पदार्थ निषेध, फागुन १८ देखि प्रचारप्रसार बन्द
काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले विशेष सुरक्षा योजना लागू गरेको छ।
उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले मतदानको सात दिन अगाडिदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्मका लागि मादक पदार्थ बिक्री–वितरण तथा सेवनमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको छ।
निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका २०७८ बमोजिम गठित समितिको निर्णय अनुसार फागुन १८ गते राति १२ बजेदेखि निर्वाचन प्रचारप्रसार गर्न पाइने छैन।
गृह मन्त्रालयले निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायहरूलाई निर्देशन दिइसकेको छ।
कतै निषेध गरिएका कार्यहरू भएको पाइएमा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ बमोजिम तत्काल कारबाही गरिने निर्वाचन आयोगले जनाएको छ।
मतदानको दिन फागुन २० गते राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्म अत्यावश्यक बाहेकका सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाइनेछ।
एम्बुलेन्स, दमकल, शव वाहन, सुरक्षा निकायका सवारी साधन, विद्युत्, खानेपानी र दूरसञ्चार सेवाका मर्मत सवारी साधन जस्ता अत्यावश्यक सेवालाई भने पासको आवश्यकता पर्ने छैन।
अन्य कूटनीतिक नियोग र पास प्राप्त सवारी साधनले मात्र सञ्चालन अनुमति पाउनेछन्।
