राष्ट्रिय झण्डा र ब्यानरमा आगजनी

बिर्तामोड। झापाको कमल गाउँपालिकामा राष्ट्रिय झण्डा र शिलान्यास ब्यानरमा आगजनी गरिएको छ।

कमल गाउँपालिका-६ खयरबारीमा रहेको मुक्तिघाट निर्माणस्थलमा खयरबारी युवा क्लबले राखेको ब्यानर र त्यसको माथि बाँसमा गाडिएको नेपालको झण्डामा अपरिचित व्यक्तिले आगो लगाइदिएको प्रहरीले जनाएको छ।

आगोको झिल्कोले राष्ट्रिय झण्डाको तल्लोपट्टिको केही भाग जलेको छ। स्थानीयले बुधबार दिउँसो ४ बजे इलाका प्रहरी कार्यालय दमकमा जानकारी गराएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रहरीले घटनाको अनुसन्धान सुरु गर्नुका साथै संलग्न रहेका आशङ्कित व्यक्तिहरूको पहिचान र खोजी भइरहेको बताएको छ।

पछिल्लो समय झापाका विभिन्न स्थानमा यस्ता घटनाहरू बढ्न थालेका छन्।

यसअघि झापा गाउँपालिका–६ मा नेकपा एमालेको झण्डा दुईपटक जलाइएको थियो भने दमकस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा समेत तोडफोड भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *