झापामा सरकारी छाप किर्ते गरी ठगी गर्ने गिरोह पक्राउ
झापा। सरकारी छाप र दस्तखत किर्ते गरी सङ्गठित रूपमा ठगी गर्ने एउटा ठूलो गिरोहलाई झापा प्रहरीले नियन्त्रणमा लिएको छ। भद्रपुर नगरपालिका–८ स्थित एयरपोर्ट–घोडामारा सडकखण्डबाट दुईवटा भारतीय विलासी गाडीसहित ६ जना भारतीय र एक जना नेपाली नागरिक पक्राउ परेका हुन्।
सशस्त्र प्रहरी बलको टोलीले शंकास्पद अवस्थामा चन्द्रगढीबाट काँकडभिट्टातर्फ जाँदै गरेका डब्लूबी ०६ एक्स ०३०० नम्बरको टोयोटा फर्च्युनर र डब्लूबी ०६ यू ३००६ नम्बरको सुजुकी बलेनो गाडीलाई चेकजाँच गर्दा यो गिरोहको भण्डाफोर भएको हो।
पक्राउ परेका अरिन्दम धरको साथबाट आन्तरिक राजस्व विभागको नक्कली दर्ता प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र र नेपाल सरकारको निशाना छाप भएको स्ट्याम्प प्याड बरामद भएको छ। यस्तै गिरोहका सदस्य सुमन सरकारको साथबाट प्रहरी वरिष्ठ नायव निरीक्षक (सई) को नक्कली परिचयपत्र समेत फेला परेको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार यो गिरोहले ‘ब्ल्याक मनी’ जफत भएको नाटक गरी मानिसहरूलाई ठग्ने योजना बनाएको देखिन्छ। उनीहरूले नोटको आकारका सादा कागजका २३७ वटा बन्डल बनाएर त्यसको माथि र तल मात्रै सक्कली नोट राखी फोटो र भिडियो खिचेर मानिसहरूलाई प्रलोभनमा पार्ने गरेका थिए।
मेचीनगर–४ को एक होटलमा डेढ महिनाअघि नै २१ वटा टिनका बाकसमा यस्ता बन्डल राखेर भिडियो खिची “हाम्रो ठूलो रकम सरकारले जफत गरेको छ, पेनाल्टी तिरेपछि रकम फुकुवा हुन्छ” भन्दै उनीहरूले व्यापारीहरूलाई जालमा पार्ने गरेको खुलेको छ।
पक्राउ पर्नेहरूमा भारत पश्चिम बंगालका अरिन्दम धर, दिपा भौमिक, सुमन सरकार, नुर कलाम शेख, अबेद अली होसैन र फारुक अज्मी रहेका छन्। उनीहरूसँगै झापाको कमल गाउँपालिका–६ का ४३ वर्षीय देवेन्द्र सापकोटा पनि पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काले यो गिरोहले लामो समयदेखि सीमा क्षेत्रमा यस्ता स्क्याम चलाउँदै आएको बताए।
पक्राउ परेका सबैमाथि मुलुकी अपराध संहिता २०७४ बमोजिम लिखत सम्बन्धी कसुरमा थप अनुसन्धान र कारबाही प्रक्रिया अगाडि बढाइएको छ।
