नयाँ अनुहार र स्थापित नेतृत्व आमनेसामने
काठमाडौं । नेपालको समकालीन राजनीतिमा यतिबेला ‘नयाँ अनुहार’ बहसको केन्द्रमा छन्। सामाजिक सञ्जालदेखि चिया पसलसम्म र विश्वविद्यालयदेखि सार्वजनिक मञ्चसम्म एउटै प्रश्न दोहोरिइरहेको छ- अबको राजनीति पुरानै नेतृत्वको निरन्तरता हो कि नयाँ पुस्ताको प्रयोग? ‘जेनजी’ पुस्ताको सक्रियतापछि परम्परागत दलहरूप्रति बढ्दो असन्तोषले वैकल्पिक नेतृत्वको खोजी तीव्र बनेको छ। यही परिवेशमा स्थापित नेताहरूलाई चुनौती दिँदै नयाँ पुस्ताका आकांक्षीहरू चुनावी मैदानमा उत्रिएका छन्।
यो चुनावी परिघटना केवल व्यक्तिको प्रतिस्पर्धा मात्र होइन, राजनीतिक संस्कार, कार्यशैली र सोचको टक्कर पनि हो। लामो समयदेखि सत्ताको केन्द्रमा रहेका दलहरूविरुद्ध जनआक्रोश चुलिँदा मतदाताले ‘परिणाममुखी’ र ‘उत्तरदायी’ नेतृत्व खोजिरहेको संकेत देखिन्छ। तर, यो परिवर्तन दीर्घकालीन राजनीतिक पुनर्संरचना हो कि क्षणिक आवेगको परिणाम भन्ने प्रश्न अझै अनुत्तरित छ।
झापा-५ मा दुई धारको टक्कर
झापा क्षेत्र नं. ५ यतिबेला राष्ट्रिय बहसको केन्द्रमा छ। यहाँ केपी शर्मा ओली र बालेन शाहबीचको सम्भावित प्रतिस्पर्धालाई धेरैले अर्थपूर्ण राजनीतिक भिडन्तका रूपमा लिएका छन्। ओली आफ्नो लामो राजनीतिक अनुभव, बलियो संगठनात्मक संरचना र स्थापित मताधारका कारण प्रभावशाली मानिन्छन्। पार्टी संयन्त्र परिचालन र रणनीतिक अभ्यासमा उनी पारंगत नेताका रूपमा चिनिन्छन्। झापाको सामाजिक–राजनीतिक संरचनामा उनको गहिरो प्रभाव छ।
अर्कोतर्फ, बालेन शाह युवा पुस्ताको प्रतिनिधित्व गर्दै परिवर्तनको एजेन्डासहित मैदानमा उत्रिएका छन्। पुरानो राजनीतिक संस्कारबाट निराश मतदाताले नयाँ विकल्प रोज्ने उनका समर्थकहरूको विश्वास छ। बालेनले सामाजिक सञ्जालमार्फत आफ्नो सशक्त उपस्थिति र स्वतन्त्र छविले युवापुस्तालाई आकर्षित गरेका छन्। उनी सीधा प्रधानमन्त्री पदको आकांक्षासहित राष्ट्रिय राजनीतिमा प्रवेश गरेर ठूलो चुनौती पेस गर्दैछन्।
तर, चुनाव केवल लोकप्रियताको खेल मात्र होइन। मतदातालाई मतदान केन्द्रसम्म पुर्याउने संगठन, गठबन्धन व्यवस्थापन र स्थानीय समीकरण उत्तिकै महत्त्वपूर्ण हुन्छन्। यदि परिवर्तनको नारा मतपेटिकासम्म पुग्यो भने मात्र नयाँ राजनीतिक इतिहास लेखिनेछ।
काठमाडौँ-३ मा प्रशासकीय छविको परीक्षा
यसैबीच, काठमाडौँ क्षेत्र नं. ३ मा कुलमान घिसिङको उम्मेदवारीले अर्को बहस छेडिएको छ। लोडसेडिङ अन्त्यसँग जोडिएको उनको प्रशासनिक छविले उनलाई ‘काम गरेर देखाउने’ नेताका रूपमा स्थापित गरेको छ। उनी उज्यालो नेपाल पार्टीबाट चुनावी प्रतिस्पर्धामा छन्।
उनका समर्थकहरूले कार्यक्षमता र इमानदारीलाई मतदाताले प्राथमिकता दिने दाबी गरे पनि राजनीतिमा प्रशासकीय सफलता मात्र पर्याप्त हुँदैन। जनसंगठन विस्तार र वैचारिक स्पष्टता जस्ता पक्षहरू यहाँ निर्णायक हुने देखिन्छन्। चुनावी मैदानमा होमिएपछि कुनै पनि व्यक्तित्व ‘प्रशासक’ बाट ‘राजनीतिज्ञ’ मा रूपान्तरण हुनुपर्ने चुनौती रहन्छ।
परिवर्तनको लहर कि स्थायित्वको निरन्तरता?
यसपटकको निर्वाचनले अनुभवी नेतृत्व र नयाँ अनुहारबीच स्पष्ट ध्रुवीकरण देखाएको छ। एकातिर स्थायित्व र अनुभवको दाबी छ भने अर्कोतर्फ पारदर्शिता र नयाँ राजनीतिक संस्कारको माग।
नयाँ अनुहारहरूको उदयले आशा जगाउनुका साथै पुरानो ढर्रालाई चुनौती दिएको छ। यद्यपि, मतदातासामु अहिले भावनात्मक आकर्षण र विवेकपूर्ण निर्णयबीचको छनोट गर्ने कठिन घडी छ। व्यक्तिको लोकप्रियताभन्दा पनि उसले दिने नीतिगत स्पष्टता र संस्थागत क्षमता महत्वपूर्ण हुनेछ।
अन्ततः लोकतन्त्रमा परिवर्तन अपरिहार्य प्रक्रिया हो। नयाँ अनुहारहरू आशाको प्रतीक बन्न सक्छन्, यदि उनीहरू आवेगभन्दा जिम्मेवारी र नाराभन्दा नीतिमा केन्द्रित भए। अबको निर्णय मतपेटिकाले गर्नेछ र परिणामले नै तय गर्नेछ— स्थायित्वको निरन्तरता हुन्छ कि परिवर्तनको प्रयोग। (नेपाल न्यूज बैंक)
