पहाडी भेगमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुस्सु
काठमाडौँ। नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले पहाडी तथा हिमाली भूभागमा बदली हुनुका साथै वर्षा र हिमपातको सम्भावना देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका पहाडी र हिमाली क्षेत्रमा साधारणतया बादल लागेको छ भने बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ। आज बुधबार दिउँसो तराईका केही स्थानमा हुस्सु लाग्ने अनुमान गरिएको छ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने र कोशी, बागमती र गण्डकीका थोरै स्थानमा चट्याङ्गसहित हल्का वर्षा हुने सम्भावना छ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रका एक-दुई स्थानमा पनि हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले बताएको छ। तराईका बाँकी भागमा भने मौसम सफा नै रहने देखिन्छ।
रातिको समयमा पनि पहाडी र हिमाली भेगमा बादल लाग्ने क्रम जारी रहनेछ। गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
यस्तै तराईका थोरै स्थानमा राति तुवाँलो लाग्न सक्ने हुनाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।
