‘स्थिरताका लागि ५ वर्ष टिक्ने सरकार र भ्रष्टाचारमुक्त शासन’
विराटनगर । राजनीतिक स्थिरता र सुशासनका लागि ५ वर्ष टिक्ने सरकार र भ्रष्टाचारमुक्त शासन पद्धति आवश्यक रहेको नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले बताएका छन्।
मोरङको निर्वाचन क्षेत्र नम्बर ३ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उपसभापति शर्माले कांग्रेसले अब देशलाई नयाँ भिजन र स्पष्ट मार्गचित्रका साथ अगाडि बढाउने उद्घोष गरे।
सम्बोधनका क्रममा उपसभापति शर्माले पछिल्लो समय नेपाली कांग्रेसप्रति देशभर जनलहर सिर्जना भएको दाबी गरे। उनले नेकपा एमालेका नेता तथा पूर्वमन्त्री रामवीर मानन्धर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मधेस प्रदेश सभापति ममता शर्मा र रास्वपाकै जिल्ला सभापति भरत पराजुली लगायतका प्रभावशाली नेताहरू कांग्रेसमा प्रवेश गरेको जानकारी दिँदै पार्टीको शक्ति बढेको बताए।
आसन्न निर्वाचनमा जित हासिल गर्नका लागि उनले प्रत्येक कार्यकर्तालाई आफ्नो वडाको जिम्मेवारी लिन आग्रह गरे। उनले ‘मेरो वडा म जिताउँछु’ भन्ने अभियान चलाउन कार्यकर्ताहरूलाई निर्देशन दिँदै टोल–टोलमा पुगेर जनताको मन जित्न आग्रह गरे।
