सर्वोच्च अदालतद्वारा दुर्गा प्रसाईंलाई छाड्न आदेश
काठमाडौँ । सर्वोच्च अदालतले व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको छ। मंगलबार न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले उनलाई छाड्न आदेश दिएको सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए।
प्रसाईंलाई गत फागुन ४ गते भक्तपुरस्थित उनकै निवासबाट प्रहरीले पक्राउ गरेको थियो। आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन विथोल्ने गतिविधिमा संलग्न हुन लागेको आशंकामा प्रहरीले उनलाई पछिल्लो समय पटक-पटक नियन्त्रणमा लिँदै आएको थियो।
यसअघि माघ २३ गते पनि पक्राउ परेका प्रसाईं हाजिर जमानीमा छुटेका थिए। त्यस समयमा निर्वाचनका विषयमा उनले दिएका अभिव्यक्तिलाई लिएर प्रहरीको साइबर ब्युरोले अनुसन्धान गरिरहेको थियो। त्यस्तै, माघ ५ गते पोखराबाट समेत पक्राउ परेका उनी बयानपछि छुटेका थिए।
पटक-पटकको पक्राउ र रिहाइको यो श्रृङ्खलाका बीच सर्वोच्चको पछिल्लो आदेशले उनलाई पुनः थुनाबाहिर आउने बाटो खोलेको छ। प्रहरीले उनलाई निर्वाचन सुरक्षाका लागि चुनौती मान्दै आए पनि अदालतले भने उनलाई थुनामा राखिराख्नु पर्ने पर्याप्त आधार नदेखेको बुझिएको छ।
