कोइरालाले ल्याए ८ बुँदे ‘अठोटपत्र’

विराटनगर । नेपाली कांग्रेसका नेता एवं मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. शेखर कोइरालाले आगामी निर्वाचनका लागि आफ्नो ‘अठोटपत्र’ सार्वजनिक गरेका छन्।

संसदीय सर्वोच्चता, संविधानको रक्षा, स्थायित्व र समुन्नतिका लागि भन्दै उनले विभिन्न ८ वटा मुख्य क्षेत्रलाई समेटेर आफ्नो प्रतिबद्धता बाहिर ल्याएका हुन्।

कोइरालाको अठोटपत्रमा लोकतन्त्रको सुदृढीकरण, सुशासन, शिक्षा, स्वास्थ्य, किसानका समस्या समाधान, डिजिटल विकास, उद्योग प्रवर्द्धन र बाढी नियन्त्रण जस्ता विषयलाई प्राथमिकतामा राखिएको छ।

उनले विशेषगरी बलियो लोकतन्त्र र संविधानको पूर्ण कार्यान्वयनमा जोड दिँदै आवश्यक परे संविधान संशोधन र कार्यान्वयनका लागि संसदमा सक्रिय भूमिका खेल्ने बताएका छन्।

बेरोजगारी समस्या समाधान गर्न ‘रोजगारीका लागि विदेश होइन, आफ्नै क्षेत्र’ भन्ने नारालाई उनले अघि सारेका छन्। यसका लागि बन्द अवस्थामा रहेका उद्योगहरू पुनः सञ्चालन गर्ने र कमजोर उद्योगलाई प्रोत्साहन गर्ने नीति लिने प्रतिबद्धता उनले जनाएका छन्।

यस्ता छन् अठोटपत्रका मुख्य कुरा

संसदीय सर्वोच्चता, संविधानको रक्षा, स्थायित्व र समुन्नतिका लागि डा. कोइरालाले लोकतन्त्र, सुशासन, शिक्षा, स्वास्थ्य, किसान, डिजिटल विकास, उद्योग र बाढी समाधानलाई मुख्य प्राथमिकतामा राखेका छन्। उनले लोकतन्त्रलाई संस्थागत गर्न संविधान संशोधन र पूर्ण कार्यान्वयनका लागि संसदमा सक्रिय भूमिका खेल्ने बताएका छन्। संघीयताको सुदृढीकरण, नागरिक स्वतन्त्रता, विधिको शासन र सार्वजनिक संस्थाहरूको राजनीतिक दुरुपयोग रोक्न उनले जोड दिएका छन्।

औद्योगिक पुनर्जागरणका लागि मोरङ क्षेत्र नम्बर ६ लाई आधार बनाउँदै उनले बन्द र कमजोर उद्योगहरू पुनः सञ्चालन गर्ने नीति अघि सारेका छन्। साना तथा मझौला उद्योगलाई कर सहुलियत दिने, विराटनगर विमानस्थललाई क्षेत्रीय स्तरमा स्तरोन्नति गर्ने र गुद्री बजारलाई सार्वजनिक-निजी साझेदारी (पीपीपी) मोडेलमा विकास गर्ने उनको योजना छ। विराटनगरलाई विशेष आर्थिक क्षेत्र (सेज) का रूपमा विकास गर्दै युवाहरूलाई स्थानीय स्तरमै रोजगारी दिने उनले अठोट गरेका छन्।

बाढी र डुबानको स्थायी समाधानका लागि बूढीखोला, केशलिया, सिंघिया र गछिया जस्ता नदीहरूको दीर्घकालीन गुरुयोजना बनाएर तटबन्ध निर्माण गर्ने प्रतिबद्धता उनले जनाएका छन्। वैज्ञानिक ड्रेनेज प्रणाली र गिरजाप्रसाद कोइराला क्रिकेट रङ्गशालाको निर्माण सम्पन्न गर्ने विषयलाई पनि उनले प्राथमिकतामा राखेका छन्।

यस्तै, किसानका लागि जलवायु अनुकूल बीउ, सिँचाइ, मल र बजारको सुनिश्चितता गर्दै कृषि बीमा र बाँझो जमिन उपयोगको कार्यक्रम ल्याउने उनको दाबी छ।

शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार गर्दै उनले डिजिटल कक्षा, प्राविधिक शिक्षा र सरकारी विद्यालयहरूको स्तरोन्नति गर्ने बताएका छन्। मदरसा र गुरुकुलहरूको पनि सुधार गरिने उनको अठोटपत्रमा उल्लेख छ। स्वास्थ्य सेवालाई आधारभूत अधिकारका रूपमा स्थापित गर्न सरकारी अस्पतालको सेवा विस्तार र स्वास्थ्य बीमाको प्रभावकारी कार्यान्वयनमा उनले जोड दिएका छन्।

प्रविधिको प्रयोगमार्फत ‘डिजिटल नेपाल’ को जग स्थानीय तहबाटै बसाल्न आईटी हब र स्टार्टअप कोष स्थापना गर्ने उनको लक्ष्य छ। अन्तमा, भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता अपनाउँदै सुशासन र सामाजिक सुरक्षा सुनिश्चित गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *