शिक्षक र कर्मचारीलाई चुनावी प्रचारमा नलाग्न चेतावनी
काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन शैक्षिक संस्थामा आबद्ध प्राध्यापक, शिक्षक र कर्मचारीहरूलाई चुनावी प्रचारप्रसारमा सहभागी नहुन अन्तिम चेतावनी दिएको छ।
आयोगका अनुसार केही शिक्षक र कर्मचारीहरू राजनीतिक दल तथा उम्मेदवारको पक्षमा प्रचारप्रसारमा लागेको भन्दै उजुरी र गुनासो प्राप्त भएको छ।
शिक्षा ऐन, २०२८ को दफा १६ङ को उपदफा (५) को खण्ड (छ) मा शिक्षक वा कर्मचारी कुनै राजनीतिक दलको कार्यकारी समितिको सदस्य रहेको पाइएमा निजलाई पदबाट हटाइने कडा व्यवस्था रहेको आयोगले स्मरण गराएको छ।
त्यसैगरी, निर्वाचन आचारसंहिता, २०८२ को दफा १० अनुसार विद्यालय, महाविद्यालय वा विश्वविद्यालयका कर्मचारी र शिक्षकले कुनै पनि दलको पक्ष वा विपक्षमा प्रचार गर्न, सवारी साधन वा भवन प्रयोग गर्न दिन र सभा-सम्मेलन गर्न नपाउने स्पष्ट व्यवस्था छ।
आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा आचारसंहिताको प्रतिकूल काम गरेमा दफा ४८ बमोजिम कडा कारबाही गरिने उल्लेख छ।
आयोगले जिल्ला आचारसंहिता अनुगमन समिति, निर्वाचन अधिकृत र निर्वाचन कार्यालयहरूलाई यसको सूक्ष्म अनुगमन गर्न समेत निर्देशन दिएको छ।

