रास्वपा मकवानपुरका सभापति पराजुली कांग्रेसमा फर्किए

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका सभापति भरत पराजुलीले पार्टी परित्याग गरी आफ्नो पुरानो घर नेपाली कांग्रेसमा फर्कने निर्णय गरेका छन्।

रास्वपा मकवानपुरले हेटौँडाको हुप्रचौरमा सभा आयोजना गरिरहेकै समयमा पराजुली भने सर्लाही पुगेर कांग्रेसमा प्रवेश गरेका हुन्।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले उनलाई सर्लाहीमा पार्टी प्रवेश गराएका हुन्। ३० वर्ष लामो राजनीतिक जीवन कांग्रेसमै बिताएका पराजुली रास्वपाको नेतृत्व शैलीप्रति असन्तुष्टि जनाउँदै पुरानै दलमा फर्किएका हुन्।

पार्टीमा सीमित व्यक्तिहरूको प्रभाव, चाकरीवाद र आन्तरिक लोकतन्त्र कमजोर भएको उनले सामाजिक सञ्जालमार्फत बताएका छन्।

पराजुली २०७९ को प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर २ बाट रास्वपाको उम्मेदवार बनेका थिए, जहाँ उनले १२ हजार ३९ मत प्राप्त गरेका थिए।

उनी आगामी २१ फागुनमा हुने निर्वाचनमा पुनः उम्मेदवार बन्न चाहन्थे, तर पार्टीले मनहरीकै २५ वर्षीय प्रशान्त उप्रेतीलाई टिकट दिएपछि उनी रित्तो हात फर्कनु परेको थियो। पराजुली गत ६ मङ्सिरमा मात्रै जिल्ला भेलाबाट सर्वसम्मत रूपमा पुनः सभापति चयन भएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *