बालेन शाहको चुनावी बाचापत्र: शिक्षामा सीपदेखि डिजिटल पुस्तकालयसम्म

दमक। झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभाका उम्मेदवार बालेन्द्र शाह (बालेन) ले आफ्नो चुनावी बाचापत्र सार्वजनिक गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्रीका दाबेदार शाहले अघि सारेको बाचापत्रमा सङ्घीय संसद्‌मा कानुन निर्माणदेखि स्थानीय स्तरमा शिक्षा र स्वास्थ्यमा आमूल परिवर्तन गर्ने एजेन्डाहरू समेटिएका छन्।

बाचापत्रमा नेपालको संविधान २०७२ ले निर्दिष्ट गरेका मौलिक हकहरूको व्यावहारिक कार्यान्वयन गर्ने अठोट व्यक्त गरिएको छ। नागरिकका आधारभूत आवश्यकता गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीलाई घरदैलोसम्म पुर्‍याउन आवश्यक कानुन निर्माण र बजेट व्यवस्थापनलाई उनले उच्च प्राथमिकता दिएका छन्।

भ्रष्टाचार र बेथिति विरुद्ध संसद्को अग्रपङ्क्तिमा उभिएर खबरदारी गर्ने र राष्ट्रहित विपरीत कुनै पनि सम्झौता नगर्ने उनले उल्लेख गरेका छन्।

शिक्षा क्षेत्रमा काठमाडौँ महानगरपालिकामा सफल मानिएको ‘शिक्षामा सीप’ कार्यक्रमलाई झापामा पनि लागू गर्ने प्रतिबद्धता बाचापत्रमा छ। यसले विद्यार्थीलाई विद्यालय तहदेखि नै आत्मनिर्भर बनाउन र वैदेशिक रोजगारीको बाध्यता न्यूनीकरण गर्न मद्दत पुग्ने विश्वास गरिएको छ।

सामुदायिक विद्यालयमा स्मार्ट कक्षा, प्रयोगशाला र पुस्तकालयको स्थापना गर्दै ‘स्कुल रिटेन्सन प्रोग्राम’ मार्फत विद्यालय छाड्ने दरलाई शून्यमा झार्ने योजना अघि सारिएको छ।

स्थानीय पूर्वाधारतर्फ गौरीगञ्जको ऐतिहासिक त्रिभुवन पुस्तकालयलाई डिजिटल अनुसन्धान केन्द्र बनाउने, कमलमा कोशी आयुर्वेद प्रतिष्ठान स्थापना गर्ने र दमकको बहुप्राविधिक शिक्षालयको भवन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने बुँदाहरू समेटिएका छन्।

दमक-१० मा रहेको साइन्स पार्कलाई थप व्यवस्थित बनाउने योजनाले यस क्षेत्रलाई शैक्षिक हबको रूपमा विकास गर्ने सङ्केत गर्दछ। यसका साथै झापा-५ मा व्यवस्थित संसद् सचिवालय स्थापना गर्ने प्रतिबद्धता पनि जनाइएको छ। यसले सांसद र नागरिकबिचको दूरी कम गर्ने र स्थानीय गुनासाहरूलाई सिधै सदनसम्म पुर्‍याउने पुलको काम गर्ने बताइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *