त्रिशूलीमा बस खस्यो: १७ को मृत्यु, २४ घाइते

काठमाडौं। पृथ्वी लोकमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका-५ भैंसीगौडामा सोमबार बिहान बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ। पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग १ ख १४२१ नम्बरको यात्रुबाहक बस बिहान करिब १:३० बजे अनियन्त्रित भई त्रिशूली नदीमा खसेको हो।

दुर्घटनामा परेर २४ जना यात्रु घाइते भएका छन्। सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता डिआइजी विष्णु प्रसाद भट्टले दिएको जानकारी अनुसार मृत्यु भएका १७ जनाको शव घटनास्थलमै रहेको छ। घाइतेहरूलाई उद्धार गरी उपचारका लागि विभिन्न अस्पताल पठाइएको उनले बताए।

घटनास्थलमा उद्धारका लागि सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन बेस आदमघाटबाट डीएसपी सुनिल गिरीको कमाण्डमा टोली खटिएको छ। यसका साथै कुरिनटारस्थित विपद् व्यवस्थापन तालिम शिक्षालयबाट गोताखोरसहितको विशेष टोली पनि परिचालन गरिएको छ।

अहिले घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले समन्वयकारी रूपमा उद्धार कार्य जारी राखेका छन्। दुर्घटनामा ज्यान गुमाउने र घाइते हुनेहरूको सनाखत गर्ने काम भइरहेको छ। दुर्घटना के कारणले भयो भन्नेबारे अहिलेसम्म केही खुल्न सकेको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *