छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ
सांकेतिक तस्बिर
खोटाङ। खोटाङमा १३ वर्षीया छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा दिक्तेल इंलिस बोर्डिङ स्कुलका एक शिक्षक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोलुखुम्बु थुलुङ दुधकोसी गाउँपालिका-१ का २४ वर्षीय शिक्षक रहेका छन्।
पीडित परिवारका अनुसार ती शिक्षकले गत फागुन ९ गते गृहकार्य सिकाइदिने बहानामा छात्रालाई आफ्नै कोठामा बोलाएर जबरजस्ती करणी गरेका थिए। घटनापछि उनले बालिकालाई तीन घण्टासम्म कोठामा थुनेर राखेको आरोप समेत लगाइएको छ।
बालिका रुँदै घर पुगेपछि मात्र अभिभावकले यसबारे जानकारी पाएका थिए। त्यसलगत्तै बालिकाका बुवा र काकाले शिक्षकलाई उनकै कोठाबाट नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए।
बालिकाको स्वास्थ्य परीक्षणपश्चात् जिल्ला प्रहरी कार्यालयमा ती शिक्षकविरुद्ध जबरजस्ती करणी अन्तर्गतको जाहेरी दर्ता गरिएको छ। पीडित परिवारले ती शिक्षकले गत मंसिरमा आयोजना गरिएको शैक्षिक भ्रमणदेखि नै छात्रालाई विभिन्न बहानामा बोलाएर अश्लील गतिविधि गर्ने गरेको बताएका छन्।
