निर्वाचनमा शिक्षक : पदीय मर्यादा मिचिएको गुनासो
काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि खटाइएका शिक्षकहरूले आफ्नो पदीय मर्यादा विपरीत कनिष्ठ जिम्मेवारी दिइएको भन्दै गम्भीर आपत्ति जनाएका छन्।
निर्वाचन आयोगले शिक्षकको तह र श्रेणीलाई बेवास्ता गरी जिम्मेवारी तोकेको भन्दै नेपाल शिक्षक महासङ्घले समेत शुक्रबार प्रेस विज्ञप्ति जारी गरी कडा विरोध जनाएको छ।
यसै क्रममा धादिङको नीलकण्ठ नगरपालिका-११ स्थित शंखादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक नित्यानन्द सुवेदीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिँदै तोकिएको जिम्मेवारी निर्वाह गर्न असमर्थ रहेको बताएका छन्।
माध्यमिक तह द्वितीय श्रेणी (नेपाल सरकारको नवौँ तह सरह) मा कार्यरत आफूलाई त्रिपुरासुन्दरी गाउँपालिका-४ को कार्कीगाउँ मावि केन्द्रमा सहायक मतदान अधिकृत (छैटौँ तह मातहत) को रूपमा खटाइएकोमा उनले आपत्ति जनाएका छन्। सुवेदीले आफ्नो पदीय मर्यादा र आत्मसम्मानमा चोट पुगेको उल्लेख गर्दै उक्त जिम्मेवारी सम्हाल्न नसक्ने स्पष्ट पारेका छन्।
सुवेदीको उक्त कदमप्रति धेरै शिक्षकहरूले समर्थन जनाएका छन्। इलाम कार्यक्षेत्र भएका शिक्षक नेता पूर्णप्रसाद गौतमले भनेका छन्, ‘मलाई तिम्रो शिक्षक हुनुमा गर्व छ, नित्य। आफ्नो मर्यादा र स्वाभिमान नै स्वपहिचान हो। तिम्रो उत्तरोत्तर प्रगतिको शुभकामना।’
नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुला बहादुर थापाद्वारा जारी विज्ञप्तिमा निर्वाचन कार्यमा शिक्षकहरूलाई खटाउँदा उनीहरूको वरिष्ठतालाई पूर्ण रूपमा लत्याइएको उल्लेख छ। विभिन्न जिल्लाबाट प्राप्त जानकारी अनुसार वरिष्ठ शिक्षकहरूलाई समेत कनिष्ठ स्तरको जिम्मेवारी दिइनु विभेदकारी कदम भएको महासङ्घको ठहर छ।
महासङ्घले शिक्षकलाई उनीहरूले अध्यापन गरिरहेको तह र श्रेणी अनुसारकै उपयुक्त जिम्मेवारी दिन निर्वाचन आयोगसँग माग गरेको छ। “शिक्षकको मर्यादामा आघात पुग्ने गरी दिइएका यस्ता जिम्मेवारी सम्पन्न गर्न शिक्षकहरू बाध्य हुने छैनन्,” विज्ञप्तिमा भनिएको छ। महासङ्घले यस विषयमा तत्काल गम्भीर हुन निर्वाचन आयोगलाई चेतावनी समेत दिएको छ।

निर्वाचनमा शिक्षकको जिम्मेवारीप्रति महासङ्घको आपत्ति
