उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना, तराईमा तुवाँलो
काठमाडौँ। नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले देशका विभिन्न भूभागको मौसममा बदलाब आएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली भएको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
आज आइतबार दिउँसो तराईका केही स्थानमा हुस्सु लाग्ने र हिमाली भूभागमा साधारणतया बादल लाग्ने सम्भावना छ। कोशी, गण्डकी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का वर्षासहित हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। अन्य प्रदेशका उच्च पहाडी क्षेत्रका एक-दुई स्थानमा पनि हल्का हिमपातको संकेत देखिएको छ।
आज राति तराईका थोरै स्थानमा तुवाँलो लाग्नेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहे पनि अन्य क्षेत्रको मौसम सफा रहनेछ। रातिको समयमा कोशी, गण्डकी र कर्णालीका हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।
