धनकुटाको निगालेमा माइक्रो बस दुर्घटना, ७ जना घाइते

विराटनगर । काठमाडौंबाट धनकुटाको हिलेतर्फ जाँदै गरेको माइक्रो बस शनिबार साँझ धनकुटा नगरपालिका–१ निगालेमा दुर्घटनामा परेको छ। ग २ ख १९५७ नम्बरको माइक्रो बस सडकबाट तल खोल्सामा खस्दा बसमा सवार ११ जनामध्ये ७ जना यात्रु घाइते भएका छन्।

दुर्घटनामा धनकुटा नगरपालिका–१ सुकेपोखरीका ३६ वर्षीय रामचन्द्र तामाङ गम्भीर घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको र थप उपचारका लागि धरान रिफर गरिएको धनकुटाका प्रहरी प्रमुख एसपी शरतकुमार थापा क्षेत्रीले बताए। अन्य घाइतेहरूमा पाख्रीबास–६ का ३९ वर्षीय डिकबहादुर मगर र १८ वर्षीय अभिषेक मगर, हिलेका ३५ वर्षीय उमेश विश्वकर्मा र उनकी १३ वर्षीया छोरी निश्मा शंकर रहेका छन्।

त्यस्तै, पाख्रीबास–२ का ४० वर्षीय झमकबहादुर आले र हिलेकी ३५ वर्षीया कल्पना विक पनि दुर्घटनामा घाइते भएका छन्। घाइते ६ जनाको धनकुटा अस्पतालमा उपचार भइरहेको र उनीहरूको स्वास्थ्य अवस्था परीक्षण भइरहेको अस्पताल प्रशासनले जनाएको छ।

प्रहरीले माइक्रो बसका चालक हुम्ला घर भई काठमाडौं बस्ने ३९ वर्षीय विजय कार्कीलाई नियन्त्रणमा लिएको छ। घटनाको थप विवरण आउन बाँकी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *