रास्वपा चुनाव बिथोल्न उत्रिएको ओलीको आरोप
भद्रपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनलाई भाँड्ने र बिथोल्ने योजना बनाइरहेको गम्भीर आरोप लगाएका छन्।
शनिबार झापाको भद्रपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले रास्वपाका पछिल्ला गतिविधिहरू हुलहुज्जत र अमर्यादित भएको बताए।
अध्यक्ष ओलीले रास्वपाले निर्वाचनमा दोहोरो चरित्र प्रदर्शन गरिरहेको टिप्पणी गरे। “आफ्नो पक्षमा नतिजा आउने देख्दा चुनाव हुन दिने, तर हारिने डर भएपछि चुनाव नै बिथोल्न खोज्ने प्रवृत्ति उहाँहरूमा देखियो,” उनले भने।
रास्वपाका कार्यकर्ताहरू विभिन्न ठाउँमा झडप र विवादमा उत्रिनुले उनीहरू निर्वाचन भाँड्ने दिशातर्फ लागेको ओलीको दाबी छ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले निर्वाचन भनेको बलमिच्याइँ गर्ने माध्यम नभएको भन्दै कुनै पनि प्रकारको जबर्जस्तीलाई जनताले स्वीकार नगर्ने प्रस्ट पारे।
उनले रास्वपाका उच्छृङ्खल गतिविधिलाई समयमै नियन्त्रण गर्न र शान्तिपूर्ण निर्वाचनको वातावरण बनाउन सरकारको ध्यानाकर्षण समेत गराए।
