सुनसरीको भोक्राहामा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप

विराटनगर। सुनसरीको भोक्राहा नरसिङ गाउँपालिका-४ मा नेपाली कांग्रेसको चुनावी कार्यक्रमका क्रममा तनाव उत्पन्न भएपछि प्रहरीले लाठीचार्ज गरेको छ।

सुनसरी क्षेत्र नम्बर ४ का उम्मेदवार ज्ञानेन्द्र कार्की आफ्नो चुनावी सभालाई सम्बोधन गर्न जाँदै गर्दा बाटोमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरूसँग जम्काभेट भएपछि विवाद सुरु भएको हो।

दुवै पक्षबीच विवाद बढ्दै गएर हातहालाहालको स्थिति सिर्जना भएपछि सुरक्षामा खटिएको प्रहरी टोलीले परिस्थिति नियन्त्रणमा लिन लाठीचार्ज गरेको छ।

कांग्रेसको भ्रातृ संगठन तरुण दल र रास्वपाका कार्यकर्ताहरूबीच झडप भएपछि प्रहरीले बल प्रयोग गरेर उनीहरूलाई तितरवितर पारेको सुनसरीका एसपी केशव थेवेले बताए।

एसपी थेवेका अनुसार झडपमा संलग्न व्यक्तिहरू छिमेकी नै भए पनि फरक राजनीतिक आस्थाका कारण विवादमा उत्रिएका थिए।

केही बेर तनावग्रस्त बनेको सो क्षेत्रमा अहिले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी अवस्था सामान्य बनाउने प्रयास भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *