ग्याल्पो ल्होसार मनाउँदै शेर्पा समुदाय

काठमाडौँ। शेर्पा समुदायले आज बुधबार विभिन्न कार्यक्रम आयोजना गरी ग्याल्पो ल्होसार पर्व मनाउँदै छन्। ल्हो अर्थात् वर्ष र छार अर्थात् नयाँ भन्ने अर्थ लाग्ने यस पर्वलाई शेर्पा समुदायले नयाँ वर्षका रूपमा उत्साहका साथ मनाउने गर्दछन्।

पर्वको अवसरमा आफ्नो गाउँघर र टोलका बाटोघाटो तथा पानीका मूलहरू सफा गर्ने, नौ प्रकारका अन्न मिसाइएको परिकार ‘गुथुक’ र ‘खाप्से’ खाने तथा आपसमा शुभकामना साटासाट गरी नयाँ वर्षको स्वागत गर्ने परम्परा छ। यसलाई पारिवारिक र सामाजिक मेलमिलाप बढाउने अवसरका रूपमा समेत लिइन्छ।

नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायलगायत महायान बौद्ध परम्परामा चन्द्रमास गणना गरी फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन नयाँ वर्ष सुरु हुने विश्वास गरिन्छ। स्याब्रु नृत्य र तुङ्गनाको धुनले यो पर्वलाई अझै उल्लासमय बनाउने गर्दछ।

यस दिन गुम्बामा गएर पूजा गर्ने र धर्मगुरु तथा लामाहरूबाट आशीर्वाद लिने गरिन्छ। खाप्से, डेशिल र गुथुक जस्ता परिकारको स्वाद लिँदै परिवारसँग रमाइलो गर्नु यस पर्वको मुख्य आकर्षण हो। यसले समाजमा आपसी प्रेम, भाइचारा र सद्भाव बढाउन सहयोग पुर्‍याउँछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *