आज चुनावी ‘प्रतिज्ञापत्र’ सार्वजनिक गर्दै कांग्रेस
काठमाडौँ। नेपाली कांग्रेसले आज बुधबार मधेस प्रदेशको राजधानी जनकपुरधाममा आयोजना हुने विशेष चुनावी सभामार्फत आफ्नो ‘प्रतिज्ञापत्र’ सार्वजनिक गर्ने तयारी गरेको छ। ऐतिहासिक तथा सांस्कृतिक नगरी जनकपुरधाममा हुने यस सभालाई कांग्रेसले मधेसको स्वाभिमान, समावेशी लोकतन्त्र र राष्ट्रिय एकताको सन्देश दिने महत्वपूर्ण अवसरका रूपमा लिएको छ।
सभालाई सम्बोधन गर्न नेपाली कांग्रेसका सभापति गगन कुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायतका शीर्ष नेताहरू जनकपुर पुग्ने कार्यक्रम छ। मधेसको माटोले सधैँ प्रजातन्त्र र सङ्घीयताको पक्षमा आवाज उठाएको भन्दै कांग्रेसले यस पटक मधेसको पहिचान र अधिकारलाई नै आफ्नो मूल एजेन्डा बनाएको छ।
कांग्रेस मधेस प्रदेशका सभापति कृष्णप्रसाद यादवले मधेस आन्दोलनपछिको राजनीतिक यात्रामा कांग्रेसले यहाँका जनताको सशक्तीकरण र समानुपातिक समावेशितालाई आत्मसात् गरेको बताए। सभापति थापा आफैँ मधेसको सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेर जनतासँग जोडिनुले मधेस र राष्ट्रिय राजनीतिबिचको सम्बन्ध सुदृढ हुने विश्वास यादवले व्यक्त गरे।
कांग्रेसले आफ्नो प्रतिज्ञापत्रमा मधेसको समृद्धि, कृषिको आधुनिकीकरण, उद्योग विस्तार, सीमावर्ती क्षेत्रको विकास र युवा रोजगारीलाई प्राथमिकतामा राखेको छ। जनकपुरको सभामा करिब १ लाख मतदाता सहभागी हुने अपेक्षा गरिएको छ।
यता काठमाडौँमा पनि आजै दिउँसो ४ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गरिएको छ। प्रवक्ता देवराज चालिसेले जनकपुरबाट सार्वजनिक गरिएको प्रतिज्ञापत्रका मुख्य बुँदाहरूबारे विस्तृत जानकारी दिने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ।
