जितेन्द्रनारायण देव एमाले छाडेर पुनः कांग्रेसमा

काठमाडौँ । राजनीतिक यात्रामा उतारचढावपूर्ण छवि बनाएका पूर्वमन्त्री जितेन्द्रनारायण देव अन्ततः पुनः नेपाली कांग्रेसमै फर्किएका छन्। केही समयअघि मात्र नेकपा एमाले परित्याग गरेका देवले मंगलबार एक वक्तव्य जारी गर्दै कांग्रेसको नवीन नीति र नेतृत्वलाई आत्मसात् गरी पार्टीमा फर्किएको घोषणा गरेका हुन्।

देवको राजनीतिक यात्रा २०५४ सालमा एमालेको केन्द्रीय सदस्यबाट सुरु भएको थियो। २०६३ सालमा एमाले छाडेर उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरममा लागेका उनी पछि विजयकुमार गच्छदारसँगै फोरम लोकतान्त्रिकमा आबद्ध भए। गच्छदारले आफ्नो दल कांग्रेसमा विलय गराएपछि देव पनि कांग्रेसकै राजनीतिमा सक्रिय भए र राष्ट्रियसभा सदस्य समेत बने।

तर, २०८१ असार १७ गते उनी कांग्रेस छाडेर पुनः एमालेमा प्रवेश गरेका थिए। एमालेमा सात महिना पनि नबस्दै गत माघ १९ गते उनले सो पार्टी परित्याग गरे। कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेपछि देवले त्यसप्रति आफ्नो पूर्ण निष्ठा व्यक्त गर्दै पुरानै घर फर्कने निर्णय लिएका हुन्।

उनले आफ्नो वक्तव्यमा विशेष महाधिवेशनबाट पारित नवीन नीति र अग्रगामी सोचले देशको सामाजिक-राजनीतिक रूपान्तरणमा निर्णायक भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्। देवले आफूसँगै अन्य केही नेताहरू पनि कांग्रेसमा फर्किएको उल्लेख गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *